दुर्घटना न्युनिकरण गर्न सवारी चालकका लागि सचेतना अभिवृद्धि कार्यक्रम
शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २९(फरकसमाचार)/ बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले सवारी चालकका लागि ट्राफिक प्रहरीसंगको सहकार्यमा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको छ ।

उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको समन्वयमा शुक्रबार गुलरियामा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका प्रदेश सचिव उमेश ढुङ्गानाको अध्यक्षतामा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको छ ।

चालु आर्थिक वर्षको हालसम्म बर्दियामा २९ वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक ओम बहादुर खड्काले बताए । ‘६ जनाले ज्यान गुमाएका छन्’ खड्काले भने,‘३७ जना घाईते भएका छन् ।’ ३७ वटा दुर्घटना मध्ये २४ वटा दुर्घटना तिव्र गतिको कारणले भएको जनाए ।

दुर्घटना न्युनिकरण गर्न चालु आर्थिक वर्षमा १ सय २८ वटा कार्यक्रम गरेर ५ हजार ८ सय १५ जना सचेत गरेको रेकर्ड ट्राफिक प्रमुख खड्काले प्रस्तुत गरे । त्यसैगरी ट्राफिक नियमको उल्लंघन गर्ने ८ हजार ५ सय २ जनालाई कारवाही गरि ४९ लाख ४५ हजार राजश्व संकलन गरेको सुनाए । सवारीसाधन तिव्र गतिमा नचलाउँने र ट्राफिक नियमको पालना गर्न सवारी चालकहरुलाई ट्राफिक प्रहरी कार्यालयका प्रमुख खड्काले अनुरोध गरे ।

यातायात व्यवस्थापनमा स्थानीय प्रशासनको भुमिका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले प्रस्तुतीकरण गरेका छन् ।
सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले व्यापक रुपमा प्रचार प्रसारलगायत सवारी साधन चेकजाँच गरिहेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । सचेतना अभिवृद्धि कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, यातायात व्यवसायी, बस, ट्रक, ट्याक्टर, टिप्पर र अटो चालकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय