बर्दिया,पौष २(फरकसमाचार) / चितुवाको आक्रमणबाट नौ जना घाईते भएका छन् । गुलरिया नगरपालिका–११ गोरकचौरामा चितुवाले आक्रमण गर्दा आइतबार नौ जना घाईते भएका हुन् । गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षिय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भिर घाईतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ ।
वनका कर्मचारी धर्म चौधरी र प्रहरीका सहायक हवल्दार गोमानसिंह सोनार सामान्य घाईते भएका छन् । ५ जना सामान्य उपचार पछि घर फर्केका छन् । थारु खेतमा तोरी काटिरहेको बेला चितुवाले एक्कासी आक्रमण गरेको हो भने हज्जाम घर पछाडि उभिएको बेला घर नजिकैको अरहर बारीबाट निस्केको चितुवाले एक्कासी आक्रमण गरेको उनको आफन्तले जानकारी दिए ।
थारुको निधार, दायाँ पाखुरा र हातमा गहिरो चोट छ । त्यसैगरी हज्जामको बायाँ खुट्टाको थाईमा गहिरो घाउँ रहेको बर्दिया अस्पतालका ईमरजेन्सी सहायक रुपेन्द्र सोनकारले बताए । ‘हज्जामको थाईमा ५ वटा टाका लागेको छ’सोनकारले भने,‘त्यसैगरी ढाडमा नङ्ग्राले चिथोरेको घाँउ छ ।’ अस्पतालमा भर्ना भएका दुवै घाईतेहरुको सामाजिक सेवा इकाईबाट निशुल्क रुपमा उपचार भईरहेको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले जनाए ।
चितुवाले आक्रमण गरेको जानकारी पाएपछि वनको टोली घटना स्थलमा पुगेको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । ‘वन र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली चितुवा उद्दार गर्न घटना स्थलमा पुग्यो’ प्रमुख बिडारीले भने,‘हजारौंको भिँडले हाम्रो टोलीलाई काम गर्न अवरोध पु¥याउँदा वनको कर्मचारीसमेत घाईते हुन पुगे ।’ स्थानीयले हाम्रो टोलीलाई आक्रमण गर्दा वनका कर्मचारी भागाभाग भएको उनले जानकारी दिए ।
आइतबार साँझ ५ बजेसम्म पनि कर्मचारीहरु कार्यालयमा नपुगेको जनाए । चितुवा नजिकैको बगैंचातर्फ भागेको जानकारी प्राप्त भएको प्रमुख बिडारीले जानकारी दिए । साँझ भईसकेकोले आज डार्ट गर्न समस्या हुन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसंग समन्वय गरि छिटो भन्दा छिटो चितुवालाई नियन्त्रणमा लिने प्रमुख बिडारीले जानकारी दिए ।