लुम्बिनी प्रदेशमा पहिलो बर्दिया अस्पताल
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

बर्दिया, पौष ५ (फरकसमाचार) / न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको छ । नेपाल भरिका सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डको समिक्षामा बर्दिया अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेशमा पहिलो र नेपालमा दोस्रो भएको हो ।

गत वर्ष ९५ प्रतिशत अंक प्राप्त गरि न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेश र नेपालमै पहिलो भएको थियो । न्युनतम जनशक्तिको उपस्थितीमा अस्पतालले गुणस्तरीय सेवा दिई ९६ प्रतिशत अंक प्राप्त गरेको छ । यो जिल्लाको लागि सुखद रहेको छ ।

९ सय ३९ वटा विभिन्न सूचकमा गरिएको मूल्यांकनमा अस्पतालले एक सय मा ९६ अंक प्राप्त गरेको जनाईएको छ । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको छ ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, भेरी अस्पताल नेपालगन्जका नर्सिङ प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकलपर्सन कौशल भण्डारी, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा न्यूनमत सेवा मापदण्ड शाखा प्रमुख डा. नरेन्द्र खनालसहितको टोलिले बर्दिया अस्पतालको स्थलगत अनुगमन मूल्यांकन गरेका छन् ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको सार्वजनिक गरिएको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय