काठमाडौं, पुस ११/बारा प्रहरीले गोली प्रहार गरी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेको एक जनालाई समातेको छ। भारतको मोतिहारीस्थित छौडादानु ग्राम पञ्चायत-१३, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंहलाई समाउन प्रहरीले गोली चलाएको हो। बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पक्राउ परेका ती व्यक्ति नेपालमा मात्र नभई भारतीय प्रहरीको पनि मस्ट वान्टेड सूचीमा छन्।
उनी कन्ट्र्याक्ट किलर हुन्। बारा र रौतहटका विभिन्न क्षेत्रमा पछिल्लो पाँच वर्षको अवधिमा भएको आपराधिक घटनामा उनको संलग्नता रहेको एसपी काफ्लेले बताए। गत कात्तिकमा बाराको कलैया उपमहानगरपालिका-६ मदरसा टोलस्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या भएको घटनाको अनुसन्धानपछि प्रहरीले सिंहको मुख्य भूमिका रहेको बताएको थियो।
त्यतिबेला बारा प्रहरीले स्वर्णकारको हत्याको मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता, सहयोगी भूमिका खेल्ने ३४ वर्षीय जामिल अख्तर र कलैया-९ रामपुरका २६ वर्षीय रियाज अंसारीलाई पक्राउ गरेको थियो। प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गर्ने समूहका भारतको मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्द कुमार त्यतिबेलै पक्राउ परेका थिए। यद्यपि उनीहरूले प्रिन्सिपलबारे सूचना दिने काममात्रै गरेका थिए।
गोली चलाउने मुख्य व्यक्तिहरूमा सिंहसहित चार जनालाई प्रहरीले त्यतिबेला नै फरारको सूचीमा राखेको थियो। सिंहसहित २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिषकुमार सहनी र २० वर्षीय कामेश्वर सहनी फरार थिए। मोटरसाइकलमा गएर उनीहरूले स्वर्णकारमाथि गोली चलाएको सिसिटिभी फुटेजमा देखिएको थियो। एसपी काफ्लेका अनुसार उनीसहित केही व्यक्ति फेरि त्यस्तै घटना गराउन नेपाल प्रवेश गरेको भन्ने सूचना केही दिनअघि नै बारा प्रहरीले पाएको थियो। त्यसपछि शंकास्पद क्षेत्रको निगरानी र प्रहरीको गस्ती बढाइएको थियो।
सोही क्रममा आइतबार बेलुका बिश्रामपुर गाउँपालिका-३ स्थित डम्पिङ साइट नजिक उनी भेटिएपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेका थिए। एसपी काफ्लेका अनुसार सिंहलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए। त्यसपछि जवाफी फायरिङ गरी उनलाई नियन्त्रणमा लिइएको हो। उनको गोडामा दुई गोली लागेको छ। उनको साथबाट प्रहरीले सानो पेस्तोल र गोली बरामद भएको एसपी काफ्लेले जानकारी दिए। सिंहको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए।
उनीमाथि भारतमा पनि हत्या, लुटपाट, फिरौती माग्ने लगायतका घटनामा संलग्न रहेको आरोप छ। मोतिहारी छोडादानु-१३का उपप्रमुखको हत्या भएको घटनामा पनि उनको नाम आएको प्रहरीले जनाएको छ। उनले सुपारी लिएर विभिन्न आपराधिक काम गर्ने गरेको प्रहरीको रेकर्डमा छ। सिंहको स्वास्थ्य सुधार भएपछि उनीसँग थप सोधपुछ र अनुसन्धान हुने एसपी काफ्लेले जानकारी दिए। सेतोपाटीबाट साभार