वार्षिक सामाजिक परीक्षणमा कमैया महिलाका लाभग्राही सन्तोषजनक
शनिबार, पुष १४, २०८० मा प्रकाशित

बर्दिया,पौष १४(फरकसमाचार) / कमैया महिला जागरण समाजको वार्षिक सामाजिक परीक्षणमा परियाजनाका प्रत्यक्ष लाभग्राही सन्तोषजनक देखिएका छन् । कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमबाट लाभग्राही सन्तोषजनक रहेको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा शुक्रबार प्रतिक्रिया दिएका हुन् ।

कमैया महिलाले सिपमुलक तालिम दिएर बेरोजगार रहेकालाई रोजगारी दिएको बढैयाताल गाउँपालिका–७ की मन प्यारी थारुले बताईन् । ‘पहिला सिप नहुँदा तरकारी बेच्न नेपालगंजसम्म जानु पर्ने बाध्यता थियो’ उनले भनिन्,‘तर कमैया महिलाले सिलाई कटाई, भैंसी पालन, तरकारी खेती जस्ता तालिम दिएको छ ।’ संस्थाले भैंसी पालनको लागि सहयोग गरेर सघांएको छ ।अहिले भैंसी पालेको छु । भैंसी पालनबाट आम्दानी गर्ने योजना रहेको सुनाईन् ।

पहिला तरकारी खेती कसरी गर्ने तरिका थाहा नपाउँदा धेरै समस्या भएको राजापुरकी कल्पना थारुले बताईन् । ‘कमैया महिला जागरणबाट संचालित कार्यक्रमले तरकारी गर्ने तालिम दिएको छ’उनले भनिन्,‘पछिल्लो समयमा बेमौसमी तरकारी र च्याउ उत्पादन गरि सजिलै बिक्री वितरण गरेर राम्रो आम्दानी गरेको छु ।’

संस्थाद्वारा संचालित युवा नेतृत्वको लागि सहकार्य परियोजनाले धेरै राम्रो कुरा सिकाएको राजापुर युवा बखरीबाट सहभागिता जनाएका सहभागिहरुले बताईन् । पहिला हामीले मनमा लागेको कुरा अगाडि गएर बोल्न सक्थेनौं । यस परियोजाले व्यक्तित्वको विकास गरेको छ । यस परियोजनाको कारणले गर्दा हाम्रो साथीहरु अहिले विभिन्न ठाउँमा जागिर गरिरहेको जनाईन् । यस परियोजनाले पालिकामा बाल विवाह, लागु औषध न्युनिकरण गर्न सचेतनामुलक र सामाजिक मुद्दामा काम गरिरहेको जानकारी दिईन् ।

संस्थाले एक वर्षमा गरेको काम लाभग्राही र सरोकारवाला समक्ष राख्दा पारदर्शी र भएका कमजोरी सुधार गरि आगामी योजना बनाउ सकिने सहभागिहरुले बताएका थिए ।

कमैया महिला जागरण समाजद्वारा तीन वटा कार्यक्रम संचालित छन् । स्थानीय अधिकार कार्यक्रम र कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना चार वटा पालिकामा संचालित रहेको कार्यक्रम संयोजक रमेश चौधरीले बताए । ‘राजापुर, बाँसगढी नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा कार्यक्रम चलिरहेका छन्’कार्यक्रम संयोजक चौधरीले भने,‘त्यसैगरि युवा नेतृत्वको लागि सहकार्य परियोजना राजापुर नगरपालिकामा संचालित छ ।’

मुक्त कमैयाको हकहितका लागि आफु साथमा रहेको सामाजिक परीक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद राज कुमार थारुले बताए । कमैयाहरु दासताको जिवन बिताए आज यहाँसम्म आएको कमैया महिला जागरण समाजकी अध्यक्ष बिरुणी थारुले बताईन् ।

‘कमैयाहरुलाई सरकारले विभिन्न बहानामा दुख दिईरहेको छ’उनले भनिन्,‘जंगलमा, जग्गाधनीहरुको जग्गामा मुक्त कमैयाहरुको कित्ताकाट गरेको छ ।’ यस्ता समस्यालाई समाधान नगरेसम्म कमैया महिला जागरणले आवाज उठाइरहने अध्यक्ष थारुले सुनाईन् । वार्षिक सामाजिक परीक्षणको सहजीकरण लक्ष्मण ढुङगानाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय