गुलरियाका चार विद्यालय एक तारे
आइतबार, पुष २२, २०८० मा प्रकाशित

बर्दिया,पौष २२ / गुलरिया नगरपालिकाका चार ओटा माध्यमिक विद्यालय एक तारेका योग्य देखिएका छन् । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ मा उल्लेख भएको मापदण्ड पुगेसँगै विद्यालय चार तारेको स्तरमा पुगेका हुन् । विद्यालयका विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र शिक्षकले आफ्नो विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छतामा एक ताराको मापदण्ड पुरा गरेको स्वघोषणा गरेका हुन् ।

बेस बर्दियाले सञ्चालन गरेको वास गेन्स परियोजनाको नगरस्तरीय समन्वय बैठकमा सो कुराको जानकारी गराइएको हो । गुलरिया नगरपालिका भित्र एक तारा मापदण्ड पुरा गर्ने विद्यालयहरु श्री बंगलामुखी राधाकृष्ण थारु मावि, श्री गौरीशंकर मावि डल्लापुर, श्री नेरा मावि भैँसाही र श्री ध्रुव मावि तुल्सिपुर रहेका छन् । उनीहरुले आँफुहरु पहिलो ताराको स्तरमा पुगेको घोषणा गरेका छन् । गुलरिया नगरपालिकाले अनुगमन गरेपछि ति विद्यालयहरुलाई पहिलो तारा प्राप्त गरेको प्रमाणपत्र दिईने शिक्षा शाखा प्रमुख शतिस यादवले बताए ।

नगरस्तरीय समन्वय बैठकमा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता संरचना मर्मत तथा संहार कोष स्थापना गर्ने निर्णय भएको छ । मर्मत संहार कोष स्थापना भएपछि खानेपानी तथा सरसफाइका संरचना मर्मत संहार गर्न सहज हुने छ । नगरपालिकाले कार्यविधि बनाएर हरेक विद्यालयमा मर्मत संहार कोष स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिका भित्रका विद्यालयहरुको अनुगमन वडाबाट महिनामा एक पटक, नगरपालिकाबाट एक पटक र परियोजनासँग संयुक्त रुपमा बर्षमा एक पटक अनुगमन गर्ने निर्णय गरीएको छ ।

गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले विद्यालय परिवार र अभिभावकले चाहेमा नगरपालिकाका सम्पुर्ण विद्यालयहरु छिट्टै नै ताराको तहमा पुग्ने बताईन् । उनले तारा घोषणा गर्नका लागि सबैभन्दा बढि विद्यालयको नै भुमिका रहने बताउँदै विद्यालयका शिक्षकहरुले आ–आफ्नो विद्यालयलाई सुधार गर्ने हो भने छिट्टै नै तारा घोषणा गर्न सकिने जनाईन् ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मुल्याङ्कन गरी स्तरीकरण गर्नका लागि सुचक तोकिएको छ । जसमा न्युनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी संख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ । बर्दियामा केही विद्यालय बाहेक अधिकांश विद्यालय एक ताराको मापदण्डमा समेत पर्दैनन् ।

वाटरएड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास जेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतीक सहयोग गर्न लागेको हो । परियोजना गुलरिया नगरपालिकाको सबै १० वटै माध्यमिक तहका सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको छ ।

त्यसैगरी बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवनद र गेरुवा गाउँपालिकाका २३ वटा विद्यालयमा सञ्चालनमा रहेको छ । परियोजनाले ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार पाँच सय किशोरकिशोरीहरुलाई लक्षित गरि सञ्चालन हुने बेस बर्दियाका अध्यक्ष विष्णु थारुले बताए । परियोजना सन् २०२३ अप्रिल देखि २०२६ मार्चसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय