बर्दिया,पौष २२(फरकसमाचार)/ गुलरिया नगरपालिका–८ सुरजपुर श्री जय बागेश्वरी टोलका बासिन्दाहरु निकै हैरानी भोगिरहेका छन् । बस्ती बसेको २० वर्ष भईसक्दा ५० मिटर बाटो नखुल्दा पुरै बस्तीलाई हैरानी भएको छ । बाटो नहुँदा भारतीय बाटो भएर आवत जावत गर्न स्थानीय बाध्य छन् । भारतीय बाटोबाट आवागमन गर्दा पटक पटक भारतीय सुरक्षाकर्मीहरुले दुःख दिएको स्थानीयले सुनाउँछन् ।
त्यसैगरि गुलरिया बजारबाट घरको लागि सामान र घरको उत्पादन बजारसम्म लैजाँदा नेपाली सुरक्षाकर्मीहरुले पनि दुःख दिएको स्थानीयले बताउँछन् । दुई दशक देखि हामीहरु पिडामा बाँची रहेको जय बागेश्वरी टोलका दल बहादुर रोकाले बताए । ‘हामीहरुलाई भोट बैंकको रुपमा मात्र लिएका छन्’ उनले भने,‘चुनावको बेला मात्र यस बस्तीमा भोटको लागि जनप्रतिनिधिहरु आउँछन् ।’ त्यसपछि हराउँछन् । हाम्रो समस्या कसैले नसुनेको उनले सुनाए ।
श्री जय बागेश्वरी टोलमा ३५ घरधुरिका १ सय ५० जना जनसंख्या रहेको हिम बहादुर पुनले बताए । ‘हामीहरु सिमामा बसेर सिमाको सुरक्षा गरेका छौं’पुनले भने,‘तर सरकारले हामीलाई हेरेको छैन ।’ ५० मिटर बाटो नखुल्दा भारतीय बाटो प्रयोग गर्नु परेको छ । हामीहरुले खेत बारीमा उत्पादन गरेका तरकारी भारतीय बाटो भएर गुलरिया बजारसम्म पु¥याउनु परेको छ ।
त्यसैगरि रातबिरात आगलागी र बिरामी हुँदा दमकल र एम्बुलेन्स आउने बाटो छैन । ‘बाटोको लागि बस्तीका सम्पुर्ण दाजुभाईहरुले आ–आफ्नो जग्गा दिएका छन्’पुनले भने,‘बाटोको लागि जग्गा दिएको ठाउँसम्म टोलका व्यक्तिहरुले श्रमदान गरेर बाटो बनाएका छौं ।’ तर मुर्तिहा गुलरिया सडक खण्डमा बाटो जोड्न ४ जना अन्य दाजुभाईहरुको जग्गा पर्छ । उहाँहरु जग्गा नदिने भनिरहेका छन् । ५० मिटर बाटो नखुल्दा पुरै बस्तीलाई कष्ट छ । यस विषयमा पटक पटक स्थानीय सरकार र प्रशासनमा ज्ञापन पत्र बुझाएका छौं । तर,अहिलेसम्म कुनै सुनुवाई नभएको पुनले जानकारी दिए ।