बर्दिया,पौष २३ (फरकसमाचार)/ ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन अस्तव्यस्त बन्दै गएको हो । हुनेले त बाक्लो न्यानो कपडा लगाएर जाडोको सामना गर्लन् तर,बाक्लो न्यानो कपडा किन्ने कुनै जुगाड नभएका दुःखी गरिबले एउटै पातलो कपडा लगाएर थुरथुर कामेर जाडोको सामना गर्न बाध्य छन् ।
जाडोमा कपडा नभएका केही गरिब दुःखीलाई बबई महुमुखी क्याम्पस गुलरियाका विद्यार्थी अगुवाहरुले कपडा उपलब्ध गराएर सघाएका छन् । अनेरास्ववियु क्याम्पस कमिटीको समन्वय र स्वतन्त्र विद्यार्थी युनियन बबई बहुमुखी क्याम्पस गुलरियाको आयोजनामा शनिबार र आइतबार न्यानो कपडा संकलन तथा वितरण गरिएको छ । विद्यार्थी अगुवाहरुले गरेको यो कार्य सह्रानिय रहेको भन्दै स्थानीयहरुले प्रशंसासमेत गरेका छन् ।
गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोक स्थित शनिबार र आइतबार कपडा दिने र लिनेको भिडभाड देखिन्थ्यो । कपडा बैंकबाट न्यानो कपडा पाएका व्यक्तिहरु खुसी देखिएका थिए । आफुसंग भएका दुई झोला न्यानो लुगाहरु कपडा बैंकलाई उपलब्ध गराएको नारायण प्रसाद पराजुलीले बताए ।
सहयोगी मनहरुले आफुसंग भएको कपडा दिएर सहयोग पु¥याएको स्वतन्त्र विद्यार्थी युनियन बबई बहुमुखी क्याम्पस गुलरियाका अध्यक्ष लक्ष्मण भण्डारीले बताए । ‘दुई दिनमा करिब दुई सय जना दुःखी गरिबलाई कपडा बैंकबाट न्यानो कपडा उपलब्ध गराएका छौं’ अध्यक्ष भण्डारीले भने,‘गुलरियाका कपडा व्यवसायीले नबिकेका पुरानो स्टकका कपडा दिएर सहयोग गरेका छन् ।’
त्यसैगरि अन्य सहयोगी व्यक्तिहरुले कपडा बंैकलाई कपडा उपलब्ध गराएर सहयोग पु¥याएका छन् । दुई दिनमा एक सय भन्दा बढी व्यक्तिहरुले कपडा बैंकलाई कपडा उपलब्ध गराएर सहयोग गरेको जनाए । सबै सहयोगी मनहरुलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत दिए ।