विभिन्न कारणले दलित बालबालिका विद्यालय छोड्न बाध्य
आइतबार, पुष २९, २०८० मा प्रकाशित

बर्दिया,पौष २९(फरकसमाचार) / विभिन्न कारणले दलित बालबालिकाहरु शिक्षाबाट बञ्चित भएको अध्ययनले देखाएको दलित महिला संघकी अध्यक्ष हेमा सुनारले बताएकी छन् । महिला र बालिकाको मानव अधिकार संरक्षणमा संचारकर्मीको भुमिका विषयक अन्तरक्रियामा शुक्रबार दलित महिला संघकी अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।

प्रावि तहसम्म दलित बालबालिकाहरुको विद्यालयमा भर्ना सन्तोषजनक देखिएको अध्यक्ष सुनारले बताईन् । ‘आधारभूत तह सकेर मावि तहमा जाँदा दलित बालबालिकाहरुको संख्या ह्वातै कम हुन्छ’ अध्यक्ष सुनारले भनिन्,‘गरिबी,चेतनाको कमि, बालविवाह, घरेलु हिंसा, र विद्यालयमा शिक्षक तथा अन्य बालबालिकाद्वारा दलित बालबालिकालाई हुने विभिन्न खालका विभेदले विद्यालय छोडेको हाम्रो अध्ययनले देखाएको छ ।’

जातिय विभेदमा पुस्ता हस्तान्तरण भईरहेको छ । दलित महिला संघले विद्यमान जातिय भेदभाव तथा छुवाछुत, लैङ्गिक र वर्गीय विभेदको तेहोरो शोषणमा पारिएका दलित महिलाहरुको हकअधिकार स्थापित गराई राष्ट्रिय विकासको मुल प्रवाहमा समाहित गराउन संघर्षरत स्थापित गैरसरकारी संस्था हो ।

दलित महिलाको आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याई सम्मानित जीवनयापन गर्ने वातावरण बनाउन, कानुनको व्यवहारिक र प्रभावकारी कार्यान्वयन गर्न दलित महिला संघले भुमिका खेलेको जनाईएको छ । न्याय तथा समतामुलक समाज जहाँ दलित महिलाहरुले अधिकारको उपभोग, जीवन, समता, विकास र सहभागिताको अवसर प्राप्त गराउन संघको ध्येय रहेको छ ।

आर्थिक शसक्तिकरण, मानव अधिकार तथा न्यायमा पहुँच, नेतृत्व विकास तथा सहभागिता, समावेशी तथा सामाजिक न्याय र लैङ्गिक उत्तरदायि मानविय साहयता रणनीतिक क्षेत्रमा दलित महिला संघले काम गरिरहेको अध्यक्ष सुनारले जनाईन् । दलित महिला संघले विगत १६ वर्ष देखि महिला तथा बालिकाको मानव अधिकार अभियान चलाई रहेको अध्यक्ष सुनारले जिकिर गरिन् । फाउन्डेशन फरअ जस्ट सोसाईटीको सहयोग तथा दलित महिला संघको आयोजनामा दलित महिला र बालिकाको मानव अधिकार संरक्षणमा संचारकर्मीको भुमिका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय