बर्दिया, माघ ०१(फरकसमाचार)/ ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन प्रभावित भएको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन अस्तव्यस्त बन्दै गएको हो । केही दिन देखि एक्कासी बढेको ठन्डीले जनजीवन प्रभावित भएको छ । केहि दिन देखि राम्रोसंग घाम नलागेकोले अत्यधिक चिसो महसुस भईरहेको सर्वसाधारणले बताउँछन् ।
चिसो अत्यधिक बढेको छ तर, सम्बन्धित निकायले कुनै वास्ता नगरेको जनमत पार्टीका केन्द्रिय सदस्य मन्साराम यादवले बताए । ‘सम्बन्धित निकायले कम्सेकम सर्वसाधारणहरुको लागि चोक चोकमा आगो ताप्न दाउरा खसाल्नुपर्ने’ यादवले भने,‘त्यसैगरि मानसिक सन्तुलन गुमाएर बाटोमा आश्रय लिईरहेका अशक्तहरुको लागि तातो लुगाको व्यवस्था गर्नुपर्ने हो ।’
एक्कासी चिसो बढेपछि ठाउँ ठाउँमा सर्वसाधारणले आफै दाउराको जोहो गरेर आगो ताप्न थालेका छन् । ठन्डी ह्वात्तै बढ्दा मोरनिङ्गवाकको लागि बिहान निस्कने सर्वसाधारण बाटोमा कम देखिएका छन् । बजारमा बिहानै सम्पुर्ण पसल खुल्ने गर्थे र किनमेलका लागि सर्वसाधारणको चहल पहल देखिन्थ्यो । बढेको ठन्डीले बजारको चहल पहल ढिलो देखिन थालेको छ ।
हुस्सुका कारण गाडीमोटर दुर्घटनामा पर्ने जोखिम पनि बढ्दै गएको छ । अत्यधिक चिसोकाबाट बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् । चिसो बढेसंगै गुलरियाका सरकारी कार्यालयमा आइतबार सेवाग्राहीको संख्या पातालिएको छ । चिसो बढेसंगै बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् । चिसो बढ्ने क्रममा रहेकोले सतर्कता अपनाउन जरुरी छ ।