बर्दिया, माघ ०३(फरकसमाचार)/ थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाको आयोजनामा तीन दिने थारु सांस्कृतिक माघ महोत्सव गुलरियामा लागेको छ । गुलरिया नगरपालिका–५ सुहेलवा थारु संग्राहलय खेलमैदानमा थारु सांस्कृतिक माघ महोत्सव लागेको हो ।
थारु कला संस्कृति जर्गेना गर्न कल्याणकारिणी सभाले तीन दिने माघ महोत्सवको आयोजना गरेको छ । महोत्सवमा कला संस्कृति झल्किने नृत्य तथा झाँकी प्रदर्शन गरिएको छ । माघ महोत्सव सोमबार देखि आज बुधबारसम्म चल्नेछ । माघ महोत्सव उद्घाटनको दिन सोमबार थारु भेषभुषामा सजिएर नाँचगान र झाँकीसहितको ¥याली आकर्षण देखिन्थ्यो ।
बर्दिया जिल्लामा थारु जातिको बाहुल्यता रहेको छ । माघी महोत्सवमा थारु जातिको मौलिककला, साहित्य र संस्कृती झल्काएको छ ।
माघी पर्वलाई थारु जातिले नयाँ वर्ष र ठुलो पर्वको रुपमा हार्षोउल्लासका साथ मनाईने थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति बर्दियाका सभापति बिर बहादुर चौधरीले बताए । ‘पौष मसान्तबाट सुरु भई माघी पर्व माघ महिना भरी मनाउने गरिन्छ’ सभापति चौधरीले भने,‘माघ एक गते बिहानै नुहाएर आफु भन्दा ठुलोसंग आर्शिवाद लिने र सानालाई आर्शिवाद दिने चलन छ ।’
त्यसपछि वार्षिक समिक्षा आगामी वर्षको योजना निर्माण गर्ने गरिन्छ । घर परिवारमा वर्ष भरि गरेका राम्रा काम र सुधार गर्नु पर्ने कार्यलगायत घर छुटिने समेतको निर्णय यहि महिना गरिन्छ । साथै गाउँ संचालनका लागि बरघर, गुरुवा, चौकीदारलगायत चुन्ने र गाउँ संचालनको लागि नियम बनाउने काम माघमा गरिने सभापति चौधरीले जनाए । माघी महोत्सवले कला, साहित्य, संस्कृती परम्पराको संक्षरण हुने र आपसी मेलमिलाप सद्भाव कायम गर्ने प्रमुख उदेश्य रहेको छ ।
गुलरिया नगरपालिका–५ सुहेलवा थारु संग्राहलयको संर्वद्धन, प्रर्वद्धन र संरक्षण गर्दै नगरमा मनोरन्जनात्म वातावरण निर्माण गर्नु उदेश्यका साथ माघी महोत्सव आयोजना गरिएको जनाईएको छ । ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, साहित्य, कला संस्कृति बचैना हमार अभियान’भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवको उद्घाटन सोमबार संघिय सांसद संजय कुमार गौतमले गरेका थिए । महोत्सवमा थारु जातिका विभिन्न नृत्य, झाँकी, स्थानीय र राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहेको छ ।