नेपालीलाई सेनामा भर्ना नगर्न र शव फर्काइदिन रुससँग आग्रह गरेका छौंः प्रधानमन्त्री दाहाल
आइतबार, माघ ०७, २०८० मा प्रकाशित

काठमाडौँ,माघ ७ / प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न अनुरोध गरेका छन्। आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो अनुरोध गरेका हुन्। उनले रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिंदै जागिर खाने नाममा जहाँ पायो त्यहीं राज्यको नीतिविपरीत, संविधानको मर्म विपरीत, संविधानको मर्म विपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत सेनामा भर्ती नहुन आग्रह गरे।

प्रधानमन्त्री दाहालले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे। उनले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्कादिन आग्रह गरेको जानकारी दिए।

उनले भने, ‘रुस वा युक्रेनमा त्यहाँको लडाइँमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारे सरकार निकै गम्भीर र संवेदनशील छ। सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन। जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन। रुसलाई नोट पठाइएको छ।

परराष्ट्रमन्त्रीज्यूले पटक पटक यो विषयमा कुरा गर्नुभएको छ। युक्रेनसँग, रुससँग। अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ। तपाईले फिर्ता पठाइदिनुपर्छ भनेका छौं। मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायत सरकारले गम्भीर रूपमा लिएन भन्ने कुरा सही होइन। सबैले जनतामा चेतना फैलाउनुपर्छ।

जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ  बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ। सरकार गम्भीर छ। यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन। सरकारले भन्ने बित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन।’ प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरू सेना भर्तीको विषयलाई सरकारले गम्भीर रूपमा लिएको पनि बताए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर