बर्दिया,माघ ९ (फरकसमाचार) / गुलरियामा दिन प्रति दिन चोरीका घटना बढ्न थालेका छन् । गुलरिया नगरपालिका बजार क्षेत्रमा करिब एक सातामा तीन घरमा चोरी भएको हो । श्री महाकवि देवकोटा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक च्यामुलाल चौधरीको घरमा माघ २ गते राति चोरी भएको छ । सोही राति लक्ष्मण आचार्यको किराना पसलमा चोरी भएको छ । त्यसैगरि पौष २५ गते विजय श्रीवास्तवको घरबाट मोटरसाईकल चोरी भएको थियो ।
पाँच वटा तल्चा फुटालेर घरमा चोरी भएको च्यामुलाल चौधरीले बताए । ‘घरमा कोही नभएको बेला चोरी भएको हो’चौधरीले भने,‘च्यानेल गेट घरको ढोकालगायतमा पाँच वटा तल्चा फुटालेर डकैती भएको छ । लकेटसहित दुई तोलाको सुनको सिक्री र सुनको मंगलसुत्र चोरी भएको छ । त्यसैगरि कम्मरमा लगाउने चाँदीको बेल्ट पनि लकरमा नभेटिएका चौधरीले जानकारी दिए ।
आचार्य किराना पसलबाट नगद चोरी भएको छ । श्रीवास्तवको घरबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिको हुलिया सिसिटिभिमा कैद रहेको दिपक श्रीवास्तवले बताए । चोरी भएको मोटरसाईकल भेटिएपछि आफुले कुनै कारवाही नगरेको जानकारी दिए ।
गुलरिया बजारमा चोरीका घटना बढ्न थालेपछि सर्वसाधारणहरुले असुरक्षित महसुस गरेका छन् । चोरीका घटना भएको तर,आफु काम विषेशले बाहिर रहेकोले कति घरमा चोरी भएको ठ्याक्कै तथ्यांंक थाहा नभएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए ।