ठन्डीले जनजीवन कष्टकर बन्दै
बुधबार, माघ १०, २०८० मा प्रकाशित

बर्दिया, माघ १० (फरकसमाचार) / ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन कष्टकर बन्दै गएको हो । घाम नलाग्दा झन् ठन्डी महसुस भईरहेको छ । अत्यधिक ठन्डीले बजारमा सर्वसाधारणको चहल पहलमा कमि आएको छ ।

दैनिक ज्याला मजदुरी गर्नेलगायतका सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गईरहेको छ । ठन्डीको कारण आफ्नो काममा निस्कन सकेका छैनन् । बादली र हुस्सुका कारण केही साता देखि घाम लागेको छैन । त्यसैमा चिसो हावाको सिरेटोले सर्वसाधारणलाई थुरथुर काम्न बाध्य बनाएको छ । ठन्डीलाई छल्न सर्वसाधारणले आगोको सहारा लिन परिरहेको छ । ठन्डी बढेसंगै बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्ति बढी मारमा परेका छन् ।

त्यसैगरि ठन्डीले बजारमा सर्वसाधारणको चहल पहलमा कमि आएको छ । बजारमा चहल पहल नहुँदा व्यापार पनि खासै नचलेको व्यापारीहरुले बताउँछन् । चिसो बढेसंगै आगो बालेर ताप्दै गरेको जताततै देखिन्छ ।

जाडोबाट नागरिकहरुलाई बचाउनको लागि स्थानीय विपद व्यवस्थापन समितिहरुले आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धि सचेतना फैलाउने, चोक चोकमा आगो ताप्नको लागि दाउरा वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताए । जिल्ला स्तर विपद व्यवस्थापन समितिसंग बजेट नभएकोले स्थानीय विपद व्यवस्थापन समितिले यस्ता काम गरिरहेको प्रजिअ खरेलले जानकारी दिए ।

यो वर्ष अत्यधिक जाडो महसुस भईरहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘जाडोमा सर्वसाधारणको लागि आगो ताप्ने व्यवस्था गर्नेछौं’ नगर प्रमखु यादवले भने,‘वनबाट दाउरा लिएका छौं, अब दाउरा बाल्ने सक्ने ठाउँ पिच रोडको छेउछाउमा दाउरा खसाल्ने तयारीमा छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय