बर्दिया,माघ ११ (फरकसमाचार)/ ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको चिटिक्कको नवनिर्मित भवनको उद्घाटन भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले मंगलबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । लामो समयपछि ईलाका प्रहरी कार्यालय बगनाहले ब्यारेक, हिरासत कक्ष तथा भान्साघरसहितको चिटिक्कको कार्यालय पाएको छ । कार्यालयको व्यवस्थित भवन नहुँदा सेवा प्रर्वाहमा कठिनाई भएको थियो । ईलाका प्रहरी कार्यालयले सुविधा सम्पन्न चिटिक्कको कार्यालय भवन पाउँदा सेवा प्रर्वाहमा सहज हुनेछ ।
लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल रु ३ करोड ७८ लाख ४१ हजार ७९ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको जनाईएको छ ।
स्रोत साधन र संरचनाहरूको अभाव हुँदा हुदै कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको प्रहरी नायव महानिरीक्षक कडायतले बताए । नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरि जिल्ला भरि उत्कृष्ट काम गर्ने २० जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।
प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लाका प्रहरी उपरीक्षक सुधिरराज शाहीलगायत अन्य प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशनसमेत दिएका छन् ।