बर्दिया,माघ ११(फरकसमाचार)/ नेपाल भारतको सीमा देखि दुरीमा राखिएको गुलरिया स्थित राजापुर भन्सार कार्यालयको कारणले सीमावर्तीका नेपाली किसान प्रशासनको उल्झनमा पर्ने गरेका छन् । जिल्लामा नयाँ नयाँ आउँने प्रशासन प्रमुख र प्रहरीलाई भारतको दशगजासँग जोडिएका सीमावर्ती गाउँका बारेमा अनभिज्ञ हँुदा किसानलाई बर्सेनि उत्झन नियति जस्तो बनेको छ । सीमावर्ती गाउँमा उत्पादन हुने तरकारी लगायतका नगदेबाली सहायक बालीका रुपमा लागाए पनि भारतबाट नेपालतर्फ आएर वन्यजन्तुले नोक्सानी गर्ने हुनाले मूख्य बालीको रुपमा बेसार र मेन्था खेति गर्ने परम्परागत चलन हो ।
तर, नेपाल र भारतको सीमावर्तीमा पर्ने गाउँका किसानले बिक्रि वितरण गर्न ल्याउँदा प्रशासन तगारो बन्ने गरेको छ । प्रहरी र प्रशासनले सेवा दिने ठाउँमा किसानलाई सास्ती दिईरहेको सीमावर्तीका किसानको गुनासो छ । साता अघि हाजिर भएका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले ५० किलो बेसार सहित मोटरसाईकल नियन्त्रणमा लिए । मोटरसाईकल प्रहरीलाई अनुसन्धान गर्न जिम्मा दिए । मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेपछि कागजात हेरेर सवारीधनिलाई मोटरसाईकल दिईसकेको छ ।
शुक्रबार बरामद बेसार गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाए । लागु औषध होकि भन्ने आंशकामा ल्याब पठाउँन निर्देशन दिएको प्रजिअ खरेलले जानकारी दिए । ‘हामीसँग लागु औषध ओसार पसार भईरहेको सुचना थियो,‘राती १० बजेको समयमा मैले आफैले बेसार सहित मोटरसाईकल नियन्त्रण लिएको हुँ ,’उनले भने ।
प्रजिअ खरेलले किसानले बेसार सीमावर्ती गाउँ रत्नापुरबाट सदरमुकाम गुलरिया ल्याउँने क्रममा बरामद गरेका थिए । गुलरिया नगरपालिका– ११ का किसान सन्जय बर्माको बेसार भएको खुलेको थियो । यतिबेला काचो बेसारको मूल्य २० रुपैयाँ केजी छ । तयारी बनाएर बजारमा ल्याएर ५० रुपैया किजीसम्म किसानले बिक्रि गर्छन् । प्रजिअ नै सीमावर्तीका किसानको बिपक्षमा रहेको भन्दै स्थानीय दुखी छन् । लागु औषध बोक्ने मानिस नभएर मूख्य पेशा किसान भएको किसान बर्माले बताए । ‘मेरो आफ्नो बारीको बेसार हो,’उनले भने,‘मैले अनैतिक काम गरेको भेटिए सजायको भागीदार हुन तयार,आफ्नो बारीको नगदे बाली सहज तरिकाले बिक्रि गर्न पाउँनु पर्ने हाम्रो माग हो ।’
‘नेपालका किसानले फलाएका उत्पादन बिक्रि गर्न ल्याउँदा भारतबाट ल्याएको हो भनेर लाद्न पाईन्छ,‘उनी भन्छन,’‘प्रहरी प्रशासनका नयाँ आउँने किसानलाई दुःख दिन भन्दा जिल्लाको भूगोलको बारेमा बुझ्नु जरुरी छ । ’सिडिअ हो वा प्रहरी जो भएपनि किसानका उत्पादनलाई तस्करी गरिएको भनि भन्सर बुझाउँनु नहुने तर्क गर्छन् । भूगोलको बारेमा जानकारी नलिई किसानका वस्तुलाई तस्करी गरेको नेपालकै भूभागमा ल्याउँदा प्रशासन दुःख दिने गरेको छ ।