बर्दिया,माघ १७ (फरकसमाचार)/ गुलरिया बजार क्षेत्रमा दिन देखि लगातार चोरीका घटना बढ्न थालेका छन् । जिल्लाको सदरमुकाम गुलरिया बजार क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि व्यवसायी तथा स्थानीय आतंकित भएका छन् । सोमबार दिउँसो गुलरिया भन्सार रोड स्थित मेराज जनरल स्टोलमा चोरी भयो ।
दिन दहाडै चोरी हुन थालेपछि व्यवसायी झन् त्रसित भएका छन् । प्रहरीले गुलरिया नगरपालिका–७ भन्सार रोड स्थितका दुई नाबालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । नाबालकहरुको नाम सार्वजनिक गरिएको छैन ।
‘चोरी भएको जानकारी पाउँनसाथ प्रहरी टोली परिचालित भएको थियो’डिएसपी अर्यालले भने,‘उक्त चोरीमा संलग्न दुई नाबालक पक्राउ परेका छन् ।’ बालकहरुको साथबाट नगद रु १५ हजार बरामद भएको छ । थप अनुसन्धान भईरहेको छ । चोरीका घटना बढ्न थालेपछि सादा पोशाक प्रहरीले बजारको निगरानी बढाएको छ । त्यसैगरि प्रहरी गास्ती बढाईएको छ । शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको डिएसपी अर्यालले जानकारी दिए ।
माघ २ गते च्यामुलाल चौधरी र आचार्य किराना पसलमा एकै दिन चोरी भएको थियो । चौधरीको घरबाट सुनको सिक्री, मंगलसुत्र र आचार्य किराना पसलबाट ३ लाख १० हजार बराबरको रिचार्जसहित नगद चोरी भएको थियो । त्यसैगरि पौष २५ गते विजय श्रीवास्तवको घरबाट मोटरसाईकल चोरी भएको थियो ।