बर्दिया,माघ १९ (फरकसमाचार)/ माछा भित्र लागु औषध ब्राउन सुगर राखेर कैदीबन्दीलाई भेट्न कारागार पुगेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । कारागार सुरक्षा गार्डमा खटिएका प्रहरी टोलीले युवकलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षिय विजय तिरुवा रहेका छन् ।
तिरुवाले काँचो माछा भित्र लागु औषध ब्राउन सुगर लुकाई छिपाई साथीलाई भेट्न बहानामा कारागार पुगेका थिए । कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिहरुको लागि बाहिरबाट आफन्तले केही सामान ल्याईदिदा चेकजाँच गरेर मात्र लैजान दिईन्छ ।
सोही अनुसार तिरुवाले लगेको माछा सुरक्षाकर्मीले चेकजाँच गर्दा लागु औषध फेला परेको हो । तिरुवाले ल्याएको काँचो माछा भित्र ५ सय २० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि मधुवन नगरपालिका–५ गाउँ नंम्बर १० का २४ वर्षिय किरण पुन मगरलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेका छ । मगरको घरको कोठामा खानतलासी गर्दा १ ग्राम ६ सय ३० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।