काठमाडौँ,माघ २३ / अवैध लागू औषध गाँजाको ओसारपसार गरिरहेका नुवाकोटका बुद्धमान तामाङ, रामेछापका सञ्जीव तामाङ र विमला तामाङ सोमबार पक्राउ परे । उनीहरूलाई काभ्रेको पनौती नगरपालिका–५, आइटी पार्कबाट २८५ केजी गाँजासहित प्रहरीले रंगेहात समातेको थियो । पक्राउ परेका उनीहरूलाई प्रहरीले लागू औषध नियन्त्रण ऐनबमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । तामाङत्रय जस्तै गाँजा ओसारपसारकै क्रममा काठमाडौँ सोह्रखुट्टेका मोहमद फाजिल र दक्षिणकालीका शालोम सादा लेप्चा पनि पक्राउ परेका थिए ।
प्रहरीले भारतीय नागरिक किम्रो साङ्गीलाई पनि अवैध लागू औषध कोकिन १ किलो ९७३ ग्रामसहित पक्राउ ग¥यो । धादिङ कोईली खर्कका कान्छा तामाङ र भीम बहादुर तामाङलाई पनि लागू औषध चरेस २५ केजीसहित पक्राउ गरेको थियो । यसरी पक्राउ परेकाहरूको सूची निकै लामो बनिसकेको छ । प्रहरीले सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न हजारौँ अभियुक्त पक्राउ परिसकेका छन् । प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्पत् सयौँ लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागू औषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढेपछि सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ । यसैले विद्यमान कानुनको कार्यान्वयन गर्दै नेपाल प्रहरी लागू औषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सक्रिय बनेको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले बताए । उनका अनुसार लागू औषध नियन्त्रण अभियानबाट पछिल्लो छ महिनामा मात्रै लागू औषध प्रयोगकर्ता, कारोबारी र सम्बन्धित अपराधमा संलग्न ३ हजार ४५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ परेका मध्ये २ हजार ७५८ जना नेपाली पुरुष, १ सय ४४ जना नेपाली महिला, १ सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये १ हजार ९६० मुद्दा दर्ता भएका छन् । ‘यस्तो अपराधमा संलग्नहरूलाई प्रहरीले अनुसन्धान, पक्राउ र कानुनी कारबाही गरिरहेको छ,’ प्रहरी प्रवक्ता डिआइजी ढकालले भने, ‘लागूऔषधको प्रकोपबाट धेरै युवाहरू कुलतमा फसेर आफ्नो ऊर्जाशील व्यक्तित्व ह्रास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यसको विरुद्ध सबै एकजुट हुन आवश्यक छ । यसको नियन्त्रणका लागि विद्यमान कानुनमा समयसापेक्ष परिमार्जनको साथै सरकारको एकल पहल मात्र नभई सबै क्षेत्रबाट पहल कदमी लिनुपर्ने देखिन्छ ।’
पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, पोल्याण्ड र अन्य नियन्त्रित औषधि जस्ता लागू औषध सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरु छन् । उनीहरूबाट गाँजा ८ हजार ३२० केजी, चरेस ३ सय ८ केजी, हेरोइन १० केजी, अफिम २७ केजी, कोकिन ३ केजी र पोल्याण्ड ३ सय २६ ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी डाईजेपाम २३ हजार ५ एम्पुल, फेनारगन २७ हजार १३४ एम्पुल, ब्रुफिनुर्फिन १९ हजार ६७४ एम्पुल, लुपिजेसिक १ हजार ४१५ एम्पुल, नाईट्राभेट ६३ हजार ५४७ ट्याब्लेट, स्पास्मो ११ हजार ७२, कोरेक्स ६ हजार ५७१, एभिल ७ सय ३३, ट्रामा ४६ हजार ५९, प्रोमिथाईजिन ४ हजार ७६२, अन्य एम्पुल ६ हजार ४८२, अन्य ट्याब्लेट १ हजार ५५८ र आइस २ ग्राम समेत बरामद भएको छ ।
साउनदेखि पुस मसान्तसम्मको तथ्याङ्क विश्लेषण गर्दा मधेश प्रदेशबाट सबैभन्दा धेरै लागू औषध गाँजा ३ हजार ८९१ केजी बरामद भएको छ । सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा धेरै ६६ केजी चरेस बरामद भएको छ । कोशी प्रदेशबाट ५ केजी हेरोइन, लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै २० केजी अफिम तथा लागू औषध नियन्त्रण ब्युरोबाट १ केजी कोकिन बरामद भएको छ । लागू औषध सेवनले सेवनकर्तालाई मात्र नभई परिवार, समाज र देशलाई नै प्रत्यक्ष प्रभाव पारिरहेको छ । कालान्तरमा यसले परिवार, समाज र देशलाई नै नकारात्मक असर पार्छ ।
‘यस्तो लागूऔषधको उपयोग र कारोबारले राष्ट्रिय रूपमा राज्यको सम्पत्ति अनुत्पादक क्षेत्रमा खर्च भई राष्ट्रलाई ठुलो नोक्सान हुने तथा ऊर्जाशील जनशक्ति गलत बाटोमा लाग्दा राष्ट्रलाई दूरगामी प्रभाव पारिरहेको हुन्छ,’ डिआइजी ढकालले भने, ‘लागू औषध कारोबार अन्तर्राष्ट्रिय समस्या हो । गलत मनसायका व्यक्तिहरूले अर्थोपार्जनको उद्देश्यले लागू औषध ओसारपसार गरिरहेको देखिन्छ । आजकल नयाँ विधि र शैली अपनाई कारोबार हुने गरेको छ ।’रातोपाटीबाट साभार