प्रशासनको बैठकमा ‘सिमा नियन्त्रण भन्दा बाहिर’रहेको बिषय उठान
शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

बर्दिया,माघ २६ (फरकसमाचार)/ जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खेरलको उपस्थितिमा बिहिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । प्रमुख जिल्ला अधिकारी खरेल मासिक क्रियाकलाप वा गतिबिधिको श्रब्य दृश्यसहित पत्रकारसँग प्रस्तुत भए । मासिक क्रियाकलापमा सीमा अनुगमन, निर्माणधिन सडक अनुगमन र कार्यालय प्रमुखसँग नियमित बैठकमा हुने छलफलका बिषयमा केन्द्रित रहेर प्रमुख जिल्ला अधिकारी खरेलले छलफल गरेका छन् ।

उता, पत्रकारसँगको अन्तरक्रियामा जिल्लासँग जोडिएका नेपाल भारतका सिमा नाका नियन्त्रण नहुँदा राज्यलाई उठ्ने राजश्वमा कमि र व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको बिषय प्रमुख प्राथामिकता साथमा उठेको छ । प्रशासनले सिमा नाका नियन्त्रणमा तदारुकता नदेखाएको पत्रकारको गुनासो थियो ।

भारतीय बजारबाट बिना रोकटोक सामान भित्रिदा नेपाली व्यबसायी पलायन हुने अवस्थामा पुगेको प्रेस यूनियनका अध्यक्ष दिपकलाल श्रेष्ठले बताए । लौकाही, बलैगाउँ, चितलहवा, बठानिया बजारलगायतका भारतीय बजारबाट बिना रोकटोक अबैध रुपमा सामान भित्रिदा राज्यलाई उठ्ने राजश्वमा चुहावट भएको खुलासा गरेका थिए । ‘सिडिओ साबसँगको पहिलो भेटमा अनियन्त्रित सीमा व्यापार र भारतीय गाडी नियन्त्रण चासो देखाउँन आग्रह गरेका थियौ‘प्रजिअ तर्फ इंगिद गर्दै उनले भने,‘सीमाको अवस्थामा सुधार हुन सकेको छैन ।’

सरकारले गत जेठ १५ गते सुचना प्रकाशित गरि विदेशबाट एक सय बढीको माल सामान ल्याउँदा राजश्व बुझाउनु पर्ने कानुनी व्यवस्था ल्याएपनि प्रशासनले कार्यान्वयन गराउन नसक्नु दुखद हो ।

त्यसैगरि प्रशासनको मिलिमतोमा अबैध रुपमा भारतीय नंम्बर प्लेटका गाडीहरु राखिने गरेको बिषयमा पत्रकारले प्रजिअ खरेलसँग प्रश्नको उत्तर खोजेका थिए । प्रशासनसम्म पहुँच भएकाले भन्सार वारी सदाबहार भारतीय प्लेटको गाडी राख्ने तर, पहुँच नभएकाको गाडी नियन्त्रण लिएर भन्सारमा बुझाउने गरिन्छ भन्ने प्रश्नको पत्रकारले जवाफ पाएनन् ।

सिमानाकाबाट अबैध रुपमा ल्याउने मालसामान नियन्त्रण गर्न र सिमानाकामा छोटी भन्सार स्थापनाको लागि उद्योग वाणिज्य संघले पटक पटक जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईसकेको छ । त्यसैगरि आयोजना हुने विभिन्न फोरममा सिमानाकामा हुने तस्करीलाई नियन्त्रण गर्न कुरा उठ्ने तर सम्बन्धित निकायले सुनेर नसुने जस्तो गर्ने गरेको व्याप्त गुनासो छ ।

सिमावर्ती नेपाली किसानले आफ्नै बारीमा उत्पादन गरेको उत्पादन बजार ल्याउँदा प्रहरीले भन्सारमा रोकेर निधिखुदि गर्छ तर, सिमानाकाबाट हुने चोरी पैठारीलाई रोक्न ठोस कदम नचाल्नु दुखद रहेको सिमावर्ती किसानहरु गुनासो गर्छन् । सीमावर्ती नेपाली गाउँबाट बजारमा बिक्रि गर्न ल्याउँने, बेसार, प्याज र तरकारी जन्य बस्तु बरामद भएपनि भारतबाट आउँने अन्य सामाग्री धमाधम भन्सार छलेर नेपाल भित्रिरहँदा नियामक मुखदर्शक बन्ने गरेको आरोप छ ।

प्रत्येक महिना उत्कृष्ट काम गर्ने कार्यालय प्रमुखहरुलाई उत्कृष्ट कार्यालय प्रमुख उद्घोष गर्ने परम्परा सुरु गरेको प्रजिअ खरेलले बताए । ‘जिल्लाको चौतर्फी विकासमा यस परम्पराले प्रभाव पर्छ’प्रजिअ खरेलले भने,‘कार्यालय प्रमुखहरुको कार्य सम्पादनको प्रतिस्पर्धा गराई सेवालाई प्रभावकारी बनाउँछ ।’

जिल्ला स्थित रहेका सरकारी कार्यालयहरुको प्रत्येक महिनाको ४ गते २ बजे कार्यालय प्रमुखहरुको बैठक बस्ने उनले जानकारी दिए । त्यसैगरि प्रत्येक महिनाको ३ गते ३ बजे सरकारी कार्यालयका सुचना अधिकारीहरुको बैठक बस्ने र कार्यालय प्रमुखहरुको बैठकमा कुन विषयमा छलफल हुने एजेन्डा तयार गर्ने सुनाए ।

यसैविच, जिल्लाको सुरक्षा व्यवस्थापन, भौतिक, सामाजिक विकास, लागु औषध नियन्त्रण, सिमामा हुने तस्करी नियन्त्रण गर्न बठैकले सहज हुने विश्वास व्यक्त गरे । राष्ट्रसेवक कर्मचारीले नदेखेको समस्यालाई औल्याउन संचारकर्मीहरुलाई प्रजिअ खरेलले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर