बर्दिया,माघ २७(फरकसमाचार)/ गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीलाई धमाधम निस्सा वितरण गर्न सुरु गरेको छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीले नगरपालिकामा दर्ता गराएको निवेदन राष्ट्रिय भूमि आयोगबाट प्रमाणिकरण भएर आएको नाप नक्साको निस्सा नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । शुक्रबार गुलरिया नगरपालिका–८ कार्यालयले निस्सा वितरण गर्न सुरु गरेको छ । वितरण गरिएको निस्सामा भोगचलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको ठेगाना र अनुमानित क्षेत्रफललगायत उल्लेख छ ।
अस्थायी निस्सा हस्तान्तर गर्दै सुरक्षितसाथ राख्न गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘यही निस्साको आधारमा जोतभोग गर्दै आएको जग्गाको नाँपजाँच हुन्छ’नगर प्रमुख यादवले भने,‘निस्सालाई लेमिलेशन पनि नगर्नुहोला,यही निस्सामा नाँपजाँच गर्न खटिने अमिनको टोलीले लेख्नुपर्छ ।’त्यसैले लेमिलेशन नगर्न अनुरोध गरे ।
अब तत्काल नापी र आयोगसंग बैठक गरेर नाँपजाँचको काम सुरुवात गर्ने जनाए । तपाईहरुले जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा छिट्टै उपलब्ध गराउन हामी लागि परेका छौं । फारम भर्ने बेला तपाईहरु नबुझेर सबैले भर्नु भएको छ । वास्तविक सुकुम्बासी नभएकाले पनि फारम भरेका छन् । तीन पुस्तामा दुई धुर जग्गा देखिए पनि त्यस्तालाई सुकुम्बासी मानिदैन । कानुन अनुसार नगरपालिकाले काम कारवाही अघि बढाउने नगर प्रमुख यादवले भनाई राखे ।
गुलरिया नगरपालिकाको अधिकांश वडामा नाप नक्साको निस्सा वितरण भईरहेको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई पहिलो चरणमा ५ हजार बढीलाई निस्सा वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले जनाए ।
वडाबाट निस्सा वितरणको काम सुरु भएको गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियाले बताए । ‘तपाईहरु नआत्तिनुहोला निस्सा आएको वाडावासीलाई हामीले निस्सा उपलब्ध गराउने छौं’अध्यक्ष बनियाले भने,‘वडा कार्यालयमा निस्सा लिन आउँदा नागरिकता र फारम दर्ता गराउने बेला पाएको अर्धकट्टी ल्याउनुहोला ।’
गुलरिया नगरपालिका–८ कार्यालयले २ सय ४६ अव्यवस्थित बसोबासी, ८१ जना भुमिहिन सुकुम्बासी र ३५ जना भुमिहिन दलित गरि जम्मा ३ सय ६२ जनालाई नाप नक्साको निस्सा वितरण गर्ने वडा सचिव छविलाल ज्ञवालीले जानकारी दिए । गुलरिया नगरपालिका–८ को निस्सा वितरण कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव,उप–प्रमुख सावित्रा गौतम, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल,वडा अध्यक्ष धर्मेन्द्र कुमार बनियालगायतको उपस्थिती रहेको थियो ।