एकैदिन पाँच विद्यालयको अुनगमन
सोमबार, फागुन ०७, २०८० मा प्रकाशित

बर्दिया,फागुन ७(फरकसमाचार)/ गुलरिया नगरपालिकाका ५ वटा माध्यमिक विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि संयुक्त अनुगमन गरिएको छ । गुलरिया नगरपालिका स्थित श्री गौरीशंकर मावि डल्लापुर, श्री नेपाल राष्ट्रिय मावि भैसाही, श्री महाकवि देवकोटा मावि गुलरिया, कोटही मावि तुलापुर र नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुरको आइतबार अनुगमन गरिएको हो । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता लागि नयाँ निर्माण तथा पुराना संरचनाको मर्मत सम्भार गरिएको छ । त्यसैगरि परियोजना अन्र्तगत संचालन भएका सचेतनामुलक कार्यक्रमको समेत अनुगमन गरिएको छ ।

वाटरएड नेपालको आर्थिक सहयोग, बेस संस्था, राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा वास गेन्स परियोजना संचालन भईरहेको कार्यक्रम संयोजक जगदिश चौधरीले बताए । गुलरिया नगरपालिकाको १० वटा मावि विद्यालय मध्य ५ वटा माविमा किशोर किशोरी पहुँच युक्त खानेपानी, शौचालय र हात धुने संंरचनाको निर्माण भएको कार्यक्रम संयोजक चौधरीले जनाए ।

महिनावारी स्वच्छताको लागि विद्यालयमा छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था छ कि छैन गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले चासो देखाएकी छन् ।

बाल क्लव, किशोरी क्लव र खानेपानी सरसफाइ तथा स्वच्छता समितिका पदाधिकारीले गरेको काम, चुनौती र आगामी योजनाको बारेमा गुलरिया नगरपालिका शिक्षा शाखाका प्रमुख सतिस यादवले स्थलगत अनुगमनमा व्यापक छलफल गरेका छन् । त्यसैगरि विद्यालयको रिजल्ट राम्रो बनाउन प्रधानाध्यापकहरुसंग शाखा प्रमुख यादवले छलफल गरेका छन् ।

परियोजनाले विद्यालयमा बालक्लव, किशोरी क्लव, विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । यी समूहको क्षमता अभिवृद्धि गर्न बाल, मानव, शिक्षा, खानेपानी, सरसफाइ तथा स्वच्छता, महिनावारी स्वच्छता अधिकार सम्बन्धि तालिम दिई सकेको छ । विद्यालयले स्वःमुल्यांङकनमा प्राप्ताङ्क अनुसार वास्तविक रुपमा खानेपानी, सरसफाइ कार्यविधि २०७४ अनुसार १ तारा, २ तारा, ३ तारामा दिइएको सुचकहरु के कति पुरा भएको अनुगमन गरिएको छ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता स्वमुल्याङ्कन अनुसार विद्यालयले तारा प्राप्त गर्ने मापदण्ड पुरा गरेको छ कि छैन अनुगमन गरिएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छताको लागि गठन गरिएको समतिको बैठक छलफल,अतिरिक्त क्रियाकलाप गरिएको छ छैन सोधपुछ गरिएको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि परियोजनाले विद्यालयमा गरेको काम सन्तोषजनक पाईएको अनुगमनका सहभागीले प्रतिक्रिया दिएका छन् ।

दिइएको सुचकको आधारमा विद्यालयको स्तर निर्धारण गर्ने उदेश्यले संयुक्त अनुगमन गरिएको वास गेन्स परियोजनाका कार्यक्रम अनुगमन तथा मुल्यांकन अधिकृत मान बहादुर चौधरीले बताए । पाँच वटा पालिकाको ३३ वटा विद्यालयमा परियोजनाले काम गरिरहेको चौधरीले जनाए ।
वास गेन्स परियोजना अन्र्तगत गौरीशंकर मावि डल्लापुरमा अनुमानित लागत रु १६ लाख ५८ हजार ६ सय १७ बराबरको संरचना निर्माण तथा मर्मत भएको छ । पहुँच युक्त नयाँ शौचालय, सोकपिट, ह्याण्डवास स्टेशन, खानेपानी स्टेशन, फोहोर जलाउने पिटलगायतका संरचना निर्माण भएको छ । नेपाल राष्ट्रिय मावि भैसाहीमा अनुमानित लागत रु १६ लाख ९४ हजार ५ सय २६ बराबरको संरचना निर्माण र मर्मत कार्य भएको छ । महाकवि देवकोटा मावि गुलरियामा २० लाख ३१ हजार ७ सय ७८ बराबरको संरचना निर्माण तथा मर्मत कार्य भएको छ ।

कोटही मावि तुलापुरमा अनुमानित लागत १६ लाख ३३ हजार ५ सय ४० बराबरको नयाँ संरचना निर्माण तथा पुराना संरचना मर्मत सम्भार भएको छ । त्यसैगरि नेपाल शम्भुशरण मावि खैरापुरमा १६ लाख ७३ हजार २ सय ४९ बराबरको संरचना निर्माण तथा मर्मत कार्य भएको छ । विद्यालयमा पहुँच युक्त समावेशी संरचना बनाउन गुलरिया नगरपालिकाले पनि बजेट छुट्याएको छ ।

अनुगमनमा बेस संस्थाका अध्यक्ष अध्यक्ष विष्णु थारु, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, इन्जिनियर विशाल पौडेल, गुलरिया नगरपालिका–११ का वडा अध्यक्ष विष्णु यादवलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय