बर्दिया,फागुन ८(फरकसमाचार) / गुलरियामा प्रभातफेरी कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । प्रजातन्त्र दिवसको अवसरमा सोमबार गुलरियाको गणेशमान चोक देखि सहिद पार्कसम्म प्रभातफेरी गरिएको हो । प्रभातफेरी कार्यक्रममा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला स्तरीय समारोह समिति जिल्ला समन्वय समितिको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको छ । गणेशमान चोक देखि सुरु भएको प्रभातफेरी सहित पार्क स्थित कोणसभामा परिणत भएको थियो ।
सहिद पार्क स्थित सहिदहरुको शालिकमा मल्यार्पण तथा अमिर लगाएर सहभागिले सहिद प्रति सम्मान व्यक्त गरेका थिए । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
कोणसभालाई सम्बोधन गर्दै १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य गर्न ज्यान आहुती गर्ने सम्पुर्ण सहिदहरुको योगदानलाई वक्ताहरुले स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।
प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट,उप–प्रमुख अनिता यादव, सहायक प्रजिअ रोशन कठायत, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलगायत राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।