बर्दिया,फागुन १० (फरकसमाचार)/ भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक प्रबिण धितालले बुधबार देखि बर्दिया प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालयमा बुधबार प्रहरी कर्मचारीहरुले प्रहरी प्रमुख धिताललाई भव्य रुपमा स्वागत गरेका छन् । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक धितालले बुधबार पत्रकारहरुसंग परिचय तथा भेटघाट गरेका छन् ।
आयोजित पत्रकार भेटघाटमा बर्दिया आएपछि पहिलो पटक साक्षात्कार भएका प्रहरी उपरीक्षक धितालले दाङ घर भएको खुलाए । पूर्वी जिल्ला र अन्यत्र जिल्लामा जागिरको दौरानमा काम गरेको अनुभव पत्रकारसँग साट्ने क्रममा लुम्बिनी प्रदेश भित्रको जिल्लामा काम गर्ने अवसर पाएको उनले सुनाएका छन् ।
आफ्नो प्रदेशमा काम गर्ने अवसर पाएर धेरै खुसी भएको प्रहरी उपरीक्षक धितालले बताए । ‘मेरो घर दाङ हो’उपरीक्षक धितालले भने,‘आफ्नै प्रदेशमा काम गरेर यहाँको बसाई सुखद रहने अपेक्षा गरेको छु ।’ पूर्वी जिल्लाको तुलनामा हिंसात्मक घटनाको ग्राफ ओरालो रहेको उल्लेख गर्दै सहज तरिकाले नै शान्ती सुरक्षालाई प्रभावकारी तथा चुस्त दुरुस्त राख्नका लागि पत्रकारहरुको समक्ष आग्रह गरेका छन् । ‘समाजको शान्ती सुरक्षाका लागि प्रहरीको आँखा र पत्रकार आँखाले देखेका समस्यालाई हल गर्दै जाने हो,’उनले भने,‘ पत्रकारको आँखाले देखेको समस्या पनि प्रहरीलाई सेयर गरे शान्ती सुव्यवस्था कायम हुन्छ ।’
जिल्लाको शान्ति सुरक्षा कायम गर्दै खुल्ला सिमानामा देखिएका समस्यालाई समाधान गर्न सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रहरी उपरीक्षक धितालले विश्वास दिलाए । त्यसैगरि लागु औषध न्युनिकरण गर्न अभिभावकहरुलाई जागरुक गर्न समुदाय स्तरमा व्यापक रुपमा सचेतनामुलक अभियान चलाउने भनाई राखे ।
प्रहरी उपरीक्षक धितालसंगको भेटघाटमा जिल्ला स्थित देखिएका समस्या खुल्ला सिमानामा हुने अपराधिक गतिविधि, लागुऔषध ओसार पसार र बन्यजन्तु मानव बिचको द्वन्द्वलगायतको बारेमा पत्रकारहरुले जानकारी गराएका थिए ।