बर्दिया, फागुन ११ (फरकसमाचार)/ गुलरिया बजार क्षेत्रको चहल पहल र सडकको उपलब्धतालाई मध्यनजर गरि सार्वजनिक गाडी कुद्ने रुट तोकिएको लामो समय भयो । रुट तोकिएको लामो समय भईसक्दा समते रुट सार्वजनिक हाइस गाडीको लागि कार्यान्वयन नहुनु दुखद हो । सार्वजनिक गाडी हिड्ने अनुमति नदिएको भिडभाड टोल टोलको भित्रि बाटो भएर तिव्र गतिमा कुद्ने हाइस गाडीले दुर्घटनाको जोखिम बढेको हो ।
राजापुर,गुलरिया हुदै नेपालगंजतर्फ तिव्र गतिमा गईरहेको हाइस गाडी र गुलरिया बजार देखि गुलरिया गाउँ तर्फ गईरहेको मोटरसाईकल गुलरिया नगरपालिका–७ विजय टेडर्स नजिक बिहिबार एकआपसमा ठोकिदाँ मोटरसाइकलमा सवार एक जना घाईते भएका छन् । भे १ ज ८२१ नंम्बरको हाइस गाडी र भे ४ प ९३४९ नंम्बरको मोटरसाइकल एकआपसमा ठोकिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जनाए । गुलरिया नगरपालिका–३ का राकेश कुमार यादव घाईते भएका हुन् । यादवको बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ । बर्दिया अस्पतालमा उपचारपछि यादव रेष्टको लागि घर फर्किएका छन् ।
हाइस गाडी बाइपासको बाटो नगएर बंगलामुखी मन्दिर हुदै टोलको भित्रि बाटोमा तिव्र गतिमा कुदाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । टोलको भित्रि बाटोमा सार्वजनिक गाडी हाइस तिव्र गतिमा कुद्ने क्रम रोकिएन भने ठुलो दुर्घटना हुन सक्ने स्थानीयले आँकलन गरेका छन् ।
गुलरियाबाट नेपालगंजतर्फ जाने गाडी गुलरिया बजार क्षेत्र बाहिर बाईपास हुदै जाने रुट छ भने नेपालगंजबाट गुलरिया आउने गाडी बजार हुँदै आउने रुट तोकिएको छ । तर राजापुर,गुलरिया हुदै नेपालगंजतर्फ जाने विषेश गरि हाइस गाडी बाइपास भएर नगई टोल टोलको भित्रि बाटो छिर्दा दुर्घटना हुने गरेको पाईएको छ ।
तोकिएको रुटमा गाडी नकुदाएर गुलरिया बजारको टोल टोलको भित्रि बाटोबाट सार्वजनिक गाडी हिड्दा स्थानीयको बिरोध छ । उता बाईपासको बाटो भत्किएर जीर्ण अवस्थामा रहेकोले टोल टोलको भित्रि बाटोमा गाडी कुदाउन बाध्य रहेको सार्वजनिक गाडी चालकहरुको भनाई छ ।