बाल विवाह मुक्त घोषणा गर्न मधुवनमा वडा स्तरीय सर्वपक्षिय भेला
शनिबार, फागुन १२, २०८० मा प्रकाशित

बर्दिया, फागुन १२ (फरकसमाचार)/ बाल विवाह मुक्त घोषणा गर्न मधुवन नगरपालिका–८ मा वडा स्तरीय सर्वपक्षित भेला गरिएको छ । मधुवन नगरपालिका–८ मा शुक्रबार आयोजना भएको सर्वपक्षिय भेलामा सहभागीले बाल विवाह न्युनिकरणमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मधुवन नगरपालिका–८ का वडा अध्यक्ष मेक बहादुर गुरुङ्गको अध्यक्षतामा सर्वपक्षिय भेला सम्पन्न भएको छ ।

वडामा बाल विवाह मुक्त गर्न बाल विवाहमा सहभागी नहुने, बाल विवाह भएको जानकारी पाएमा सम्बन्धित निकायमा खबर गर्ने, सामुदायिक वनबाट बाल विवाहमा सेवा सुविधा नदिने, विद्यालयको बाल क्लव सक्रिय बनाउने, आमा समुह र अभिभावकहरुले व्यापक रुपमा जनचेतनामुलक कार्यक्रम गर्ने, बडघरको संजालमा खबर गर्ने र बाल विवाहको कुरालाई सामाजिक बहिस्कार गर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

यस अघि मधुवन नगरपालिकाको ९ वटै वडाका बडघरहरुले बाल विवाह न्युनिकरणको लागि बडघर भेलामा प्रतिबद्धता जनाईसकेको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् । ‘मधुवन नगरपालिकाको वडाहरु मध्ये ८ नंम्बर वडा चाडै बाल विवाह मुक्त घोषणा हुने छ’ फिल्ड सुपरभाइजर चौधरीले भनिन्,‘किन भने अघिल्लो वर्ष हामीले संकलन गरेको बाल विवाहको तथ्यांकमा सबै भन्दा कम बाल विवाह भएको वडा नंम्बर ८ मा देखिएको थियो ।’ त्यसैले चाडै बाल विवाह मुक्त घोषणा हुने चौधरीले विश्वास व्यक्त गरिन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजना संचालन छ । सर्वपक्षि भेलामा जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय