बर्दिया,फागुन १७(फरकसमाचार)/ दुई साता भित्र दुई जना सरकारी कर्मचारीलाई आक्रमण भएको छ । जिल्लामा असुरक्षा बढेको सर्वसाधारणले महसुस गरेका छन् । विगत केही दिन देखि कर्मचारीमाथि भईरहेको भौतिक कारवाहीले त्रास छाएको छ । सरकारी कर्मचारी कार्यालयसम्म जान समेत डराईरहेका छन् । कालोमोसो दल्ने र कुटपिट गर्ने कार्यले कर्मचारीहरु निरुत्साहित भएका छन् ।
कर्मचारी वा जोकोहीले अनियमितता वा गलत नियतको काम गरे कानुनी कारवाही गर्ने विभिन्न निकायहरु र बाटोहरु छन् । तर,कानुनी कारवाही नगरेर भौतिक रुपमा कालोमोसो दल्ने र कुटपिट गर्ने कतिको जायज हो प्रश्न चिन्ह खडा भएको छ । के कानुनी कारवाही गर्ने निकाय नभएरै व्यक्ति वा समुहले भौतिक कारवाहीमा उत्रिरहेका छन् ? कानुन विपरीत काम गर्ने जोकोहीलाई कानुनी सजायको दायरामा ल्याउनु पर्ने सर्वसाधारणको भनाई छ ।
बढैयाताल गाउँपालिका शिक्षा शाखाका प्रमुख बिष्णु प्रसाद ढकालमाथि बुधबार दुव्र्यबहार भएको छ । घर देखि कार्यालय जाने क्रममा बढैयाताल गाउँपालिका–३ भोलागौडी स्थित अज्ञात समुहले ढकालमाथि सांघातिक आक्रमण गरेको हो । बढैयातालको घटनाको बारेमा अधिकारी पुष्टि भएको छैन ।दुव्र्यबहार गर्ने अखिल (क्रान्तिकारी) ६ नम्बर प्रदेश समिति(कर्णाली)ले सामाजिक संजाल मार्पmत जिम्मा लिएको छ । बिद्यालयमा खरिद देखि अनुदान र अनमियतता गरेको आठ बुदे गल्ती औल्याउँदै कारबाही गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
ढकालमाथि भएको सांघातिक आक्रमणको कर्मचारीले विरोध गरेका छन् । घटनामा संलग्न जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही नगरेसम्म अत्यावश्यक सेवा बाहेक पालिकाले दिने सेवा अनिश्चितकालको लागि बन्द गरिएको विज्ञप्ती कर्मचारीले बढैयाताल गाउँपालिकाका अध्यक्षलाई बुझाएका छन् ।
त्यसैगरि गत माघ १९ गते ठाकुरबाबा नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रदिप कुमार शाह कुटिएका थिए । बिहान पौने नौ बजे कोठा बाहिर निकाली कुटपिट गरिएको शाहले बताए । ठाकुरबाबा नगरपालिका–१ का प्रसुराम थारुले कुटपिट गरेको खुलेको छ ।
घटनाको एक दिन अघि प्रसुराम थारु ठाकुरबाबा नगरपालिका–१ वडा कार्यालयमा छोराको नागरिकताको लागि सिफारिस लिन पुगेका थिए । त्यस दिन वडा सचिव बिदामा थिए ।
‘कुर्सीमा बसिरहेको अवस्थामा कर्मचारीले काम नगर्ने भन्दै थारुले चर्को स्वरमा हो हल्ला गर्न थालेका थिए’ शाहले भने,‘त्यसपछि म सव इन्जिनियर हो, मेरो काम गर्ने फिल्ड अर्कै हो, एक छिन बस्नुस् अहिले अध्यक्ष सर आएपछि तपाईको काम हुन्छ,’। अर्को दिन बिहान कोठामा बसेको बेला बाहिर निस्कनुस काम छ भनेर थारुले आग्रहलाई स्वीकार गर्दै कोठा बाहिर निस्कदा म माथी आक्रमण भएको हो । कोठाबाट बाहिर निस्कने बित्तिकै मेरो काम नगर्ने भन्दै थारुले निर्घात कुटपिट गरेको शाहले सुनाए ।
घाँटी च्यापेर शरिरको जताततै भागमा कुटपिट गरे । शाहका अनुसार टाउँको, पिठिउँ र छातीमा चोट लागेको छ । प्रहरीले कुटपिटमा संलग्न थारुलाई नियन्त्रण लिईसकेको छ । कुटपिट गर्ने व्यक्तिलाई के कति कारवाही हुने विषयमा सरकारी वकिल कार्यालय र प्रशासन कार्यालयमा जाँदा चित्त बुझ्दो जवाफ नपाएको शाहले जानकारी दिए । बिना गल्ती कुटपित गर्नेलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने पिडित शाहको माग छ ।
बढैयाताल घटनामा संलग्नको खोजी कार्य तीब्र पारिएको प्रहरी उपरीक्षक प्रबिण धितालले बताए । उनका अनुसार बढैयाताल घटनामा संलग्न प्रहरी नियन्त्रण लिन खोजीकार्य तीब्र पारेको छ ।