बर्दिया,फागुन २०(फरकसमाचार)/ राजनितिक पहुँच वा पावर भएका मानिसलाई मानविय आवश्यक्ता पूरा गर्न आफु अनुकुलको विकास खोज्छन् भनेको त सुनिएको हो । सुन्ने भन्दा पनि यर्थाथमा हेर्न खोज्ने हो भने धेरै टाढा जान पर्दैन । बर्दियाको सदरमुकाम गुलरिया देखि १९ किलोमिटर पूर्व र बाँके नेपालगंज देखि १७ किलोमिटर पश्चिम मैनापोखर बजार नजिक पर्ने खेत खल्यान जोड्न लक्ष्य सहित बनाईएको पक्की पुल हेर्ने हो भने वास्तवमै लाजमर्दो देखिन्छ । बढैयाताल–६ मा रहेको ५० मिटरमा दुरीमा दुई वटा पक्की पुल छन् । त्यस मध्य नयाँ खेत खल्यान जोड्न बनाईएको पुल अनटेस्ट छ भने चार लेनमा वा चर्को ट्राफिक धानिरहेको पूरानो पुल जिर्ण बन्दै छ ।
त्यसको ठिक ५० मिटर उत्तर तर्फको चपला खोलामा बनाईएको नयाँ पक्की पुल अनटेस्ट छ । चपला खोलामा निर्माण सम्पन्न भएको पुलले यसरी राज्यको ढुकुटि दोहोन भईरहेको पुष्टि गर्छ । चार लेन सडक खन्डलाई गिज्याईरहेको बबई सिँचाई आयोजनाले बनाएको पक्की पुलले देशमा भईरहेको विकासको नमुना देखाएको छ । खेत खल्यान जोड्न बनाईएको विकासले आम नेपालीलाई गिज्जाईरहेको आभास जो कोहिलाई पनि गर्न बाध्य बनाउँछ । करिब साढे तीन करोड लगानीमा बनेको पुलको उपयोगिता बालुवामा पानी हाले सरह जस्तै छ ।
पुजनतलिया जाने बाटोको उत्तर पश्चिम जाने सडकका लागि बनाईएको पुल हो । उक्त पुल यस्तो ठाउँमा बनाईएको छ कि केहिका जग्गालाई छोएको छ भने पुल हुदै आवागमन गर्ने सडकको निकास खुलेको छैन । अधिकांश स्थानीयलाई पुल किन के का लागि बनाईएको बारेमा समेत अनभिज्ञ छन् ।
पुलको बजेट किन बिनियोजन गरियो । यहाँ बजेट कस्ले पार्यो । किन यहाँ पुल बनाईयो । प्राबिधिकले उक्त ठाउँमा पुल बनाउँने ठहर कसरी गर्यो । भन्ने जस्ता प्रश्नको उत्तर स्थानीय खोजिरहेका छन् । पुल बनेको लामो समय पुग्दा पनि त्यस पुलबाट कसलाई प्रत्यक्ष लाभ भईरहेकोमा समेत स्थानीय अनभिज्ञ छन् । यस्तो विकासले ठाउँलाई मात्र हैन जिल्लाकै बेईज्यत गरिरहेको स्थानीय गुनासो गर्छन ।
चारलेन सडक खन्डको काम धमाधम भईरहदा आखै अघि खेर गएको बजेटले हामीलाई समेत दुखी बनाएको स्थानीय गुनासो गर्छन । ‘पुजनतलिया जाने बाटोका उक्तर पश्चिममा बनेको पुलमा किन बजेट खर्च गरियो ?’ स्थानीय रामु भाटले भने,‘यहि बजेटले अति आवश्यक ठाउँमा आधा दर्जन पुल बन्थ्यो ।’ उक्त सडकखन्ड जोड्नका लागि बढैयाताल करिब २ सय ५० मिटर ग्राभेल सडकमा लगानी गरेको छ । सडक खन्डको बिषयमा नाप जाँचमा बिबाद हुदा उक्त सडकमा गाउँपालिकाले लगानी गरेको लगानी समेत खेर गएको छ ।
‘किन बन्यो,कस्को कारणले त्यहा पुल बन्यो, हामीलाई थाहा भएन ’नाम नखोल्ने सर्तमा एक जनप्रतिनिधिले भने,‘पुल बनेपछि सडकलाई निकास दिन खोज्दा नाप जाँचको बिबाद निकालेर सडकले पुर्णता पाउँन सकेन ।’सडकको दोहोरो निकास निकाल्न खोज्दा स्थानीय ईन्सान नाउँको घर पर्दछ ।
कसैको स्वार्थमा खेत खल्यान जोड्न बनाईने पुलले निराशा भित्राएको उनको तर्क छ । उक्त क्षेत्र बर्दियाको निर्वाचन क्षेत्र १ मा पर्दछ । लामो समय नेता बामदेव गौतमको गृह क्षेत्रको रुपमा बढैयाताल–६ मैनापोखर चिनिएको थियो । पछिल्लो समय उक्त निर्वाचन क्षेत्रमा तत्कालिन एमालेका उपाध्यक्ष बामदेवलाई पराजित गरी लगातार दुई पटक संजय गौतम जितेका छन् ।
बबई सिचाईको आयोजना प्रमुख सुशिल देवकोटासँग प्रतिक्रिया लिन खोज्दा अघिल्ला बर्षको काम भएकाले आफु अनभिज्ञ भएको बबई सिचाँईका आयोजना प्रमुख सुशिल देवकोटाले बताए । ‘म नयाँ हो, अघिल्ला बर्षको काम भएकाले स्थलगत नहेरेर आधिकारीक भन्न सक्दैन’उनले भने,‘काठमाडौ भएकाले कार्यालय फर्केर मात्र जानकारी दिन सक्छु ।’