बर्दिया, फागुन २४ (फरकसमाचार)/ बगलामुखी मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाउने तयारी रहेको छ । गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाउने तयारी रहेको मन्दिर व्यवस्थापन समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाईएको हो ।
बगलामुखी मन्दिर जिल्ला कै पुरानो मन्दिर रहेको बगलामुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक ढुङ्गानाले बताए । ‘बगलामुखी माध्यमिक विद्यालय स्थापना हुनु पुर्व यस मन्दिरमा पठन पाठन हुन्थ्यो’अध्यक्ष ढुङगानाले भने,‘यो मन्दिर सदरमुकाममा अवस्थित भएपनि प्रचार प्रसारको अभावले ओझेलमा परेको छ ।’
यस मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्री पर्व मनाईन्छ । यस वर्ष पनि बगलामुखी मन्दिर प्राङ्गणमा रहेको श्री पिताम्बरेश्वर महादेव मन्दिरमा विशेष पुजा अर्चनासहित महाशिवरात्री मनाईने अध्यक्ष ढुङगानाले जानकारी दिए । साथै सम्पुर्ण भक्तजनलाई उपस्थितीको लागि आग्रह गरे ।
भोली फागुन २५ गते(शुक्रबार)भव्य रुपमा महाशिवरात्री पर्व मनाउने योजना रहेको बगलामुखी मन्दिर व्यवस्थापन समितिका सचिव दुर्गा आचार्यले बताए ।
महाशिवरात्री पर्वको अवसरमा पिताम्बरेश्वर मन्दिरमा विशेष शिव पुजन, ११ ब्राम्हणद्वारा लघुरुद्रि पाठ, दिउसो ३ बजे देखि ६ बजेसम्म भण्डारा तथा प्रसाद वितरण, बेलुका ७ बजे बगलामुखी मन्दिरमा रहेको यज्ञ कुण्डमा शिवधुनि जागरण/शिव उत्सव र साढे ७ बजे मन्दिर परिसरमा भजन किर्तन तथा प्रसाद वितरणको कार्यक्रम रहेको सचिव आचार्यले जनाए ।
बगलामुखी देवीको पुजा आराधना गरे मानव कल्याण हुने जनविश्वास रहेको बगलामुखी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष सुभाष कुमार पोखरेलले बताए ।
महाशिवरात्री पर्वको लागि भक्तजनबाट उठाईएको रकम बचाएर मन्दिरको बैंक खातामा जम्मा गर्ने बगलामुखी मन्दिर व्यवस्थापन समितिकी कोषाध्यक्ष निर्मला मैनालीले विश्वास दिलाईन् । मन्दिरको नाममा उठेको रकम मन्दिर विकासको काममा मात्र प्रयोग हुने कोषाध्यक्ष मैनालीले जानकारी दिईन् ।
महाशिवरात्री पर्वको लागि बगलामुखी मन्दिरमा सम्पुर्ण तयारी भईसकेको शिवरात्री व्यवस्थापन समितिका संयोजक बिष्णु अधिकारीले बताए । ‘सशस्त्र प्रहरीको सहयोगमा मन्दिर परिसर सरसफाई भईसकेको छ’ संयोजक अधिकारीले भने,‘मन्दिर सजावटलगायत महाशिवरात्री पर्वमा भक्तालुहरुको उपस्थितीको लागि व्यापक रुपमा प्रचार प्रसार गरिएको छ ।’