बर्दिया,फागुन २६ (फरकसमाचार)/ गुलरिया बजारमा केही दिन देखि दिनदहाडै चोरी हुन थालेपछि सर्वसाधारण यति बेला आतंकित भएका छन् । गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित राधाकृष्ण डेरी उद्योगमा शुक्रबार दिउँसो चोरी गर्ने क्रममा एक नाबालक पक्राउ परेका छन् । चोरी गर्ने नाबालकलाई नियन्त्रणमा लिई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ पर्ने नाबालक रहेकोले नाम खुलाईएको छैन । पक्राउ पर्ने नाबालक भुरिगाउँ तिरका हुन् ।
दुधको क्यान धोईरहेको बेला गल्ला खोलेको आवाज सुनेर बाहिर निस्केको डेरी संचालक भरत उपाध्यायले बताए । ‘बाहिर निस्किदाँ आधा गल्ला खुलेको अवस्थामा देखे तर गल्लामा राखेको रुपियाँ देखेन’उपाध्यायले भने,‘नचिनेको मान्छे पसलबाट बाहिर निस्कदै गरेको देख्दा झन् शंका लाग्यो ।’ किन गल्ला खोलेको सोधेपछि आफुले नखोलेको युवकले जवाफ दिएको उपाध्यायले सुनाए ।
‘आफुले गल्लामा राखेको छ सय रुपियाँ युवकको गोजीमा फेला पर्यो’उपाध्यायले भने,‘युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छौं ।’ यसरी बिच बजारमा दिनदहाडै पसलमा डकैती हुनु दुखद रहेको उपाध्यायको भनाई छ ।
पसलको गल्लामा राखेको रुपियाँ चोरी गरेको आरोपमा १५ वर्षे नाबालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताए । नाबालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
यो चोरीको घटना प्रतिनिधि घटना मात्र हो । गुलरियामा जताततै चोरी भएको घटना सुनिन्छ । गुलरिया बजार क्षेत्र वरिपरि लगातार चोरी हुनु सुरक्षा व्यवस्थालाई कडा चुनौती दिएको छ । गुलरिया नगरपालिका–६ की कमला घिमिरे र कमला कटुवालको घरमा गत आइतबार राती चोरी भएको थियो । त्यसैगरि वडा नंम्बर ६ कै अयुब हलवाईको घरमा शनिबार राति चोरी भएको थियो ।
हुलाक चोकमै रहेको रुपा बिजुली पसलको गल्लाबाट दुई महिला अघि रु सात हजार दिनदाहडै चोरी भएको थियो । त्यसैगरि फागुन ७ गते मुरली आर्टबाट रेडमी सेभेनए मोबाईल चोरी भएको मुरली गोडियाले बताए । ‘पसलको पछाडि बसेर मुर्ती रङगाई रहेको थिए’गोडियाले भने,‘अगाडि काउन्टरमा राखेको मोबाईल एकैछिनमा गायब भयो ।’ गत माघ १५ गते दिउँसो गुलरिया नगरपालिका–७ भन्सार रोड स्थित मेराज जनरल स्टोलमा चोरी भएको थियो ।
श्री महाकवि देवकोटा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक च्यामुलाल चौधरीको घरमा माघ २ गते राति चोरी भएको छ । सोही राति लक्ष्मण आचार्यको किराना पसलमा चोरी भएको छ । त्यसैगरि पौष २५ गते विजय श्रीवास्तवको घरबाट मोटरसाईकल चोरी भएको थियो । दिनदहाडै चोरी हुन थालेपछि कसरी घर पसल जोगाउने सर्वसाधारण चिन्तामा छन् ।