बर्दिया, फागुन २९/ बाँकेमा स्रोत नखुलेको ३८ लाख बढी रकमसहित तीन जना पक्राउ परेका छन् । आइतबार बेलुकी नेपालगञ्ज उपमहानगरपालिका –१ सुर्खेत रोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दियाको बारबर्दिया नगरपालिका–२ की २५ वर्षीया पूर्णिमा चौधरी, राजापुर नगरपालिका–१ का २० वर्षीय अनुप थारू र नेपालगञ्ज–१६ जैसपुरका ३६ वर्षीय हसिब अहमद जसगढ छन् । उनीहरूबाट स्रोत नखुलेको ३८ लाख ६३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए ।
प्रहरी निरीक्षक निरञ्जन घिमिरेका अनुसार पक्राउ परेका पूर्णिमाले बोकेको झोलाबाट १६ लाख ९४ हजार रुपैयाँ र अनुपले बोकेको झोलाबाट २१ लाख ६९ हजार रुपैयाँ रकम बरामद भएको थियो ।
उनीहरूलाई भरियाको रूपमा रकम ओसार पसारमा प्रयोग गर्ने हसिब रहेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक घिमिरेले बताए । पूर्णिमा र अनुप नेपालगञ्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरू हसिबको कार्यालयमा सहयोगीको रूपमा काम गर्थे । स्रोतका अनुसार हसिबमाथि हुण्डीको कारोबार गर्दै आएको आरोप छ ।
नेपालगञ्ज–४ न्यूरोडमा भित्री सटर भाडामा लिएर हुण्डीको कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि लामो समयदेखि प्रहरीले अनुसन्धान गरिरहेको थियो । राष्ट्रिय अनुसन्धान विभागको टोलीले पनि हसिबमाथि अनुसन्धान गरिरहेको थियो । घटनामा संलग्न एक जना फरार रहेको प्रहरी स्रोतले जनाएको छ । ‘झन्डै २५ लाख पैसा बोकेका युवक भागेको भन्ने अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भने, ‘भागेका व्यक्तिको खोजी जारी छ ।’