बर्दिया,चैत १९(फरकसमाचार) / जिल्लाको जेठो नगरपालिका गुलरियाको कर्भडहलमा निर्माण भएको गोलपोष्ट भत्काइएको छ । गुलरिया नगरपालिका– ४ स्थित बबई बहुमुखी क्याम्पस नजिक सरकारी लागतमा निर्माण भएको कर्भडहल गोल पोष्ट बिहिन बनेको छ । जिल्लामा हुने खेलकुद गतिबिधिका लागि सरकारी लगानीमा निर्माण भएको भौतिक पूर्वाधार भत्काउँदा नियमनकारी निकाय बेखबर जस्तै बनेको छ ।
मानव जिवनको लागि अत्यन्त महत्वपूर्ण वा विश्वमा लोकप्रिय फुटबल खेल खेल्न निर्माण भएको पूर्वाधार अलपत्र अबस्थामा हुनुले जिल्लाको खेलकुदको अवस्था दयनिय रहेको पुष्टि हुन्छ । यस्तो अबस्था दुखद भएको खेलाडी टिप्पणी गर्छन् । खेलकुद विकास समितिको निगरानीमा कर्भड हलको संरक्षण र सबद्र्धन रहेपनि आफूखुसी उक्त कर्भड हलको चौर प्रयोग भईरहेको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार उक्त चौरमा मेला महोत्सव र क्रिकेट प्रतियोगिता संचालन भएको थियो । प्रतियोगिता संचालन गर्ने क्रममा उक्त भौतिक पूर्वाधार भत्काएको आरोप लागेको छ । जिल्लाको सदरमुकाम गुलरियाको एक मात्र खेल खेल्न योग्य कर्भड हलको चौर भएको उल्लेख गर्दै फुटबलका लागि तयार पारिएको संरचना अर्को खेलका लागि ध्वस्त पार्नु मुर्खता मात्र होईन त्यो अपराध भएको राष्ट्रिय खेलाडी यूवराज श्रेष्ठले बताए ।
‘केहि महिना अघि गुलरिया तुलापुर स्थित कवर्ड हलको फुटबल मैदानमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो’उनले भने,‘उक्त प्रतियोगिता संचालन गर्दा बर्षौ देखि त्यहाँ अवस्थित फुटबल ग्राउन्डमा रहेको गोल पोष्ट क्रिकेट खेल्न सहजता हुन्छ भनेर जरैबाट फलामको गोल पोष्ट त्यो पनि सिमेन्टले ढलान गरेको संरचनालाई किनार लगाएर बेवारिसे अवस्थामा फालिएको छ ।’
जिम्मेवार ब्यक्तिहरुले हाल सम्म गोल पोष्ट निर्माण नगरि दिएको हुँदा फुटबल खेल्ने खेलाडीहरु आक्रोसित बनेका छन् । कर्भड हलमा भत्काईएको फुटबलको गोल पोष्ट तत्काल निर्माण गर्न पर्ने फुटबल संघका अध्यक्ष अजितराज भन्डारीले बताए । ‘कोहि कसैले यो वा त्यो बाहानामा गोलपोष्ट भत्काउँने कार्य गरेको छ त्यो जायज छैन,’उनले भने,‘ बिगत देखि नै फुटबल खेलका लागि कर्भड हलमा निर्माण गरिएको भौतिक पूर्वाधार जस्ताको त्यस्तै बनाउँनु पर्छ ।’
गोल पोष्टलाई भत्काउने र फुटबलको मैदानमा क्रिकेट खेल्न दिने निकाय कानमा तेल हालेर बसेको आरोप खेलाडीहरुको छ । उक्त खेल मैदानको पुर्वाधार जसले बिगारेको हो, वेवास्ता नगरि उसैले तत्काल निर्माण गर्न खेलाडीले चेतावनी दिएका छन् ।