जिल्लामा ११ महिनामा आगलागीका ५३ घटना, गुलरिया आसपास सबै भन्दा बढी
बर्दिया,चैत २२ (फरकसमाचार)/ गुलरिया नगरपालिका–२ संगमबस्ती बिरमान भण्डारीको कुखुरा खोर बुधबार बिहान करिब २ बजे आगलागी भयो । घर पछाडि खोरमा आगलागी भएको अबेरसम्म थाहा नपाउँँदा खोर जलेर नष्ट भयो । आगलागी भएको जानकारी पाएँ लगत्तै गुलरिया नगरपालिकाको दमकललाई खबर गरि घटना स्थल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘आगलागी हुँदा १ हजार २ सय वटा कुखुराका चल्ला, ३२ बोरा दाना र खोर जलेर नष्ट भएको छ’ डिएसपी अर्यालले भने,‘आगलागी कसरी भयो एकिन भएको छैन ।’ दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको डिएसपी अर्यालले जनाए ।
त्यसैगरि चैत ७ गते गुलरिया नगरपालिका–२ गुजरानामा कलिम गुज्जरको घरमा आगलागी भएको थियो । घर नजिक राखिएको परालमा लागेको आगो घरमा सल्केको थियो । गुज्जरको घरमा आगलागी हुँदा अनुमानित रु ८५ हजारको क्षति भएको थियो ।
यसरी जिल्लामा पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ । जाडोमा लापरवाही गरि आगो ताप्ने क्रममा त कहि विद्युत् तार सार्ट भई आगलागीका घटना भएका छन् । आगलागी घटनाबाट जिल्लालाई मानविय तथा धनजन क्षति व्यहोर्नु परेको छ ।
विस २०८० साल बैशाख देखि फागुनसम्म ५३ वटा आगलागीको घटना घटेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकले देखाएको छ । आगलागी घटनाबाट ८ जनाको ज्यान गएको छ भने ७ जना घाईते भएको रेकर्डमा उल्लेख छ । २४ वटा पशु चौपाया जलेर मरेका छन् भने २४ वटा घाईते भएको तथ्यांक छ । यसरी एघार महिनाको अवधिमा आगलागी घटनाबाट रु २ करोड २४ लाख ८८ हजार बराबरको अनुमानित क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको रेकर्र्डले पुष्टि गर्छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको रेकर्ड अनुसार अन्य पालिका भन्दा गुलरिया नगरपालिकामा आगलागीका घटना बढी भएको देखिन्छ । गुलरियामा १४, राजापुरमा ५, ठाकुरबाबामा ७, बारबर्दियामा ६ र बाँसगढी नगरपालिकामा ९ आगलागीका घटना घटेका छन् । त्यसैगरि बढैयातालमा ५ र गेरुवा गाउँपालिकामा ७ वटा आगलागीका घटना घटेको तथ्यांक छ ।
विगतका घटनाको तथ्यांक हेर्दा फागुन देखि जेठसम्म अन्य महिना भन्दा बढी आगलागीको घटना हुने गरेको देखिन्छ । यस अवधिमा आगलागीका घटना हुन नदिन सबै जनाले विशेष ध्यान पु¥याउन आवश्यक देखिन्छ ।