निःशुल्क आँखा कान शिविरबाट ३ सय १४ जना लाभान्वित
शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

बर्दिया,चैत २३(फरकसमाचार)/ निःशुल्क आँखा, कान तथा बृहत रक्तदान शिविर कार्यक्रममा ३ सय १४ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा (क) र फरकसमाचार राष्ट्रिय दैनिकको आयोजना, नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखा शिवगंगा आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा श्री गणेश विद्या मन्दिर आधारभूत विद्यालयको सहकार्यमा गुलरिया नगरपालिका–१ शंकरबस्तीमा बिहीबार निःशुल्क शिविर सम्पन्न भएको हो ।

निःशुल्क शिविरबाट गरिब अति विपन्न परिवारका सर्वसाधारण सेवा लिएका छन् । आफ्नै गाउँमा निःशुल्क सेवा लिन पाउँदा सेवाग्राहीहरु खुसी देखिएका थिए । शिविरमा गुलरिया नगरपालिकाका विभिन्न वडाका सर्वसाधारणले निःशुल्क सेवा लिएका छन् ।

निस्वार्थ मानविय सेवाको लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम प्रशंसनिय रहेको सेवाग्राही रमेश यादवले बताए । ‘निःशुल्क शिविरमा सर्वसाधारण आफ्नै गाउँमा आँखा कान जाँच गराउन पाएका छन्’यादवले भने,‘यस प्रकारको शिविर समय समयमा गाउँ टोलमा संचालन गर्न आवश्यक हुन्छ ।’

निःशुल्क शिविरमा १ सय १० जनाले कान जाँच गराएका छन् । त्यसैगरि २ सय ४ जनाले आँखा जाँच गराएका छन् भने मोतिबिन्दु रिफर १९ जनालाई गरिएको जनाईएको छ । उक्त कार्यक्रममा पाँच जनाले रक्तदानसमेत गरेका छन् ।
किश्लय कुमार मिश्र, रन्जिता चौधरी, रण बहादुर चौधरी र श्रवण कुमार चौधरीले आँखाका बिरामीलाई जाँच गरेका थिए । मनिषा चौधरीले कानका बिरामीलाई जाँच गरेकी थिईन् भने रक्तदान तर्फ रक्त सहायक सुनिता थापा खटिएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय