‘द्वन्द्व पिडितको सवालमा गुलरिया स्थानीय सरकार गम्भिर छ’
मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित

बर्दिया,चैत २७/ महिला, शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रिय कार्य योजना कार्यान्वयन गरी द्वन्द्व पीडित महिला, बालिका र प्रभावित परिवारको सवाल सम्बोधन गर्न गम्भिर रहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । द्वन्द्व पिडितहरुसंगको भेटघाटमा सोमबार नगर प्रमुख यादवले यस्तो बताएका हुन् ।

संघीय सरकारले कतिपय नितिगत निर्णय र ब्यवस्था समयमा नबनाई दिदाँ स्थानीय तहले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको छ । तर, द्वन्द्व पीडितहरुको हितमा गुलरिया नगरपालिकाले योजना बनाएर आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको नगर प्रमुख यादवले सुनाए ।

द्वन्द्व पीडित परिवारको आर्थिक अवस्थामा कुनै न कुनै रुपमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका र अन्य निकायसंग उद्यमशिलतामा जोड्न समन्वय तथा सहजीकरण गरिरहेको गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतमले बताईन् ।

नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा आफ्नो भुमिका प्रति पुर्ण प्रतिबद्ध रहेको उप–प्रमुख गौतमले भनाई राखिन् ।

गुलरिया नगरपालिकाले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न स्थानीय समिति, पीडित प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यकता पहिचान उप–समिति आउने कार्यपालिकाको बैठकबाट गठन गर्ने गरी प्रक्रिया अगाडी बढाउने प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताए ।

वकालत बैठकमा द्वन्द्व पीडितहरुले बिभिन्न सवाल मध्येमा द्वन्द्व पीडितहरुको तथ्याङ्क संकलन तथा अभिलेखिकरण गर्न पर्ने, महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० बमोजिमको दोस्रो चरणको कार्ययोजना कार्यान्वयनको प्रक्रिया तत्कालै अगाडी बढाउनु पर्ने, द्वन्द्व पीडितहरुको लागि शारीरिक तथा मानसिक स्वास्थ्य सहयोगको लागि कोष बनाउन र निशुल्क स्वास्थ्य विमाको लागि नितिगत ब्यवस्था गर्नु पने, द्वन्द्व पीडित र उनीहरुको सन्तानको शिक्षामा उमेरहद बिना शिक्षामा सहयोग तथा छात्रबृत्तिको लागि नितिगत ब्यवस्था गर्न पर्ने, वेपत्ता पारिएका ब्यक्तिका श्रीमतीलाई एकल महिलाले पाउने सरहको सामाजिक सुरक्षा सहयोग भत्ता उपलब्ध गराउन पर्र्नेे जेसि नितिका द्वन्द्व पीडित महिला र बालिकाको बिषय समेटिन पर्ने मागपत्र नगर प्रमुखलाई बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर