बर्दिया,चैत २९(फरकसमाचार)/ जिल्लामा देखिएका समसामायिक समस्या समाधानको लागि लुम्बिनी प्रदेश सांसद मालती सोडारीले चासो देखाएकी छन् । जिल्लामा देखिएका समस्याको समाधान खोज्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा सांसद सोडारीले बृहत छलफल गरेकी हुन् ।
जिल्लामा सेवा प्रवाह, नागरिकता वितरण, लागु औषध, चोरी तस्करी नियन्त्रण, सवारी व्यवस्थापन, बाल विवाह न्युनिकरण, सिमा अपराधलगायतका समस्या समाधानका विषयमा व्यापक छलफल गरिएको छ ।
विविध कारणले केही नागरिकहरु नागरिकताबाट बञ्चित हुनु परेको लुम्बिनी प्रदेश सांसद सोडारीले छलफलमा प्राथमिकताकासाथ राखिन् । जिल्लामा लागु औषध दुव्र्यसनी बढेको बताईन् । ‘खुल्ला सिमा नाका रहेकोले लागु औषध सजिलै भित्रिएको छ’प्रदेश सांसद सोडारीले भनिन्,‘लागु औषध दुव्र्यसनीबाट युवा वर्गलाई कसरी जोगाउन सकिन्छ योजना बनाएर अघि बढ्न जरुरी छ ।’ लागु औषध न्युनिकरणको लागि प्रहरी प्रशासन एक्लै सक्दैन । यस कार्यमा सबै सरोकारवालाले सघाउनु पर्ने सुनाईन् ।
जिल्ला प्रहरी कार्यालयको महिला सेलले महिला तथा बालबालिकाको मुद्दा सम्बन्धि गर्ने निर्णय सन्तोषजनक नगरहेको सांसद सोडारीले बताईन् । ‘महिला सेलले महिला तथा बालबालिका सम्बन्धि काम गर्ने अन्य निकायलाई संलग्न नगराई गर्ने एकतर्फी निर्णयको व्यापक गुनासो आईरहेको छ’ सांसद सोडारीले भनिन्,‘महिला तथा बालबालिका सम्बन्धिको निर्णयमा प्रहरी निरीक्षकको उपस्थितीमा यस सम्बन्धि काम गर्ने अन्य संघसंस्थाका प्रतिनिधिलाई सहभागी गराउनु पर्छ ।’
जिल्ला स्थित देखिएका समस्या समाधान गर्न तत्पर रहेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । ‘राज्य एक्लैले सबै काम गर्न सक्दैन’प्रजिअ खरेलले भने,‘राज्यले दिएको हकअधिकार प्राप्त गर्ने नागरिकहरुले पनि राज्य प्रतिको दायित्व बिर्सनु हुदैन ।’ सबैले आ–आफ्नो दायित्व पुरा गरे सजिलै अपराधिक गतिविधि न्युनिकरण गर्न सकिने प्रजिअ खरेलले छलफलमा भनाई राखे ।
नागरिक समाज संजालकी संयोजक हेमा सुनार, अधिवक्ता लक्ष्मी नेपाल, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, गुलरियाकी पुर्व उप–प्रमुख शुशिला गिरी, गुलरिया नगरपालिका–७ की वडा सदस्य निर्मला मैनाली, नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठलगायतले जिल्ला स्थित देखिएका समसामायिक समस्या उठान गरेका थिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, सहायक प्रजिअ रोशन कुमार कठायत, नेपाल प्रहरी उपरीक्षक प्रबिण धिताल, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लोक प्रसाद ढकाल, शान्ति पुनस्र्थापना केन्द्रकी सपना शर्मा,माइती नेपालकी गायत्री रिमाललगायतको उपस्थिती रहेको थियो ।