बर्दिया,बैशाख ०१(फरकसमाचार)/ बर्दिया अस्पतालमा दुई दिन देखि एक्सरे सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । बिहीबार देखि अस्पतालको एक्सरे सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको हो । जिल्ला स्थित अन्य ठाउँमा एक्सरे सेवा नहुँदा सेवाग्राही मारमा परेका छन् ।
दुर्घटना वा चोट पटक लागेर बर्दिया अस्पताल पुगेका बिरामीहरुको एक्सरे नहुँदा बढी रकम खर्चेर अन्य जिल्ला जान बाध्य भएका छन् । एक्सरेको लागि अन्य जिल्ला जाँदा विपन्न वर्गका सेवाग्राहीलाई आर्थिक भार परेको छ । अस्पताल व्यवस्थापन फितलो हुँदा सास्ती खेप्नु परेको गुलरिया नगरपालिकाकी एक सेवाग्राहीले बताईन् । ‘एक्सरे मेसिन राखेको कोठाको मर्मत भईरहेको छ’ उनले भनिन्,‘एक्सरे मेसिन त बिग्रेको छैन ।’
कोठाको मर्मत गर्नु पर्छ तर, सेवा अवरुद्ध गरेर मर्मत सम्भार गर्नु अस्पतालको लापरवाही रहेको उनले बताईन् । कोठाको मर्मत सम्भार भईरहेको बाहानामा सेवा नदिनु दुखद हो । लोटेर हातमा गम्भिर चोट लागेर अस्पताल एक्सरेको लागि आएको उनले सुनाईन् । उनी जस्तै दुर्घटनामा परेर वा चोट पटक लागेर बर्दिया अस्पताल पुगेका कयौं सेवाग्राही बिहीबार देखि एक्सरेको लागि अन्य जिल्ला जानु परेको छ ।
एक्सरे मेसिन राखिएको कोठाको मर्मत सम्भारको काम भईरहेकोले सेवा अवरुद्ध भएको बर्दिया अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ‘अहिले अस्पतालमा ३ सय एमएको एक्सरे मेसिन छ’ बरिष्ठ मेसु डा. पाण्डेयले भने,‘अब ५ सय एमएको नयाँ मेसिन आउँदै छ ।’
नयाँ मेसिनको लागि आवश्यक ठाउँ निर्माणको काम भईरहेको छ । भत्काएर इट्टा जोड्ने काम भईरहेकोले मेसिनमा धुलो पस्ने र बिग्रिने डर हुन्छ । जसले गर्दा एक्सरे सेवा बन्द छ । शुक्रबार साँझसम्म काम सक्ने र अबरुद्ध एक्सरे सेवा सुचारु हुने बरिष्ठ मेसु डा. पाण्डेयले जानकारी दिए ।