बर्दिया,बैशाख ३(फरकसमाचार)/ नेपाली काँग्रेसलाई बलियो बनाउन माथितिर होइन तलतिर फर्काउनु पर्ने महामन्त्री गगन कुमार थापाले बताएका छन् । गुलरियामा आइतबार आयोजित नागरिक संवाद कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘पार्टीलाई बलियो बनाउन केन्द्रका नेता जिल्ला झार्नु पर्यो’महामन्त्री थापाले भने,‘त्यसैगरि जिल्लाको नेता गाउँ, गाउँको नेता टोल र टोलमा काम गरेका साथीहरु समुदायमा जानु पर्यो ।’ काँग्रेसको केन्द्रको सभापति भन्दा पनि वडा र टोलको सभापतिलाई बलियो बनाउनु पर्यो ।
यसरी सभापतिहरुको मनोबल बलियो हुने भनाई राखे । समुदायमा नेपाली काँग्रेस पार्टीलाई भर पर्ने पार्टी बनाउनु पर्ने महामन्त्री थापाले बताए । ‘अहिले नागरिक आत्तिएका छन्, अर्थतन्त्र डामाडोल भएको छ र युवाहरु बिदेशिएका छन्’ महामन्त्री थापाले भने,‘यस्तो बेला हाम्रो नेपाली काँग्रेसले गर्छ सम्हाल्छ, हामी सरकारमा नभएपनि गर्छौ भनेर बोल्न थाल्यो भने पार्टी प्रति जनताको भरोसा विश्वास दिलाउन धेरै समय लाग्दैन ।’ तर त्यसको लागि हामीबाट सुरुवात हुनुपर्ने धारणा व्यक्त गरे ।
पार्टी भित्रका पुराना साथी जसले मौका पाएको छैन उनीहरुलाई मौका दिन छ, पार्टी भित्र नयाँ साथीलाई ल्याउन छ, पाटीभित्र जिम्मेवारी न्यायोचित रुपले बाडफाँड गर्न छ र जनताबाट निर्वाचित भएका साथीको माग राख्नु पर्ने छ । यो सबैको सन्तुलन गर्न गाह्रो रहेको सुनाए । यसको लागि नेतृत्वसंग सफा मन चाहिन्छ । हामी सबै नेतृत्व हो हामी सबैले आफुलाई सुधार गर्नुपर्छ । यस वर्ष सुधिकरणको वर्ष बनाउँ काँग्रेसलाई ।
यस वर्ष काँग्रेसभित्रको फोहोर सफा गरौं त्यो भनेको काँग्रेस मन भित्र रहेको विकृतिहरु सफा गरौं । पार्टीलाई शुद्ध, सफा, सबल, सुदृढ, जागृत बनाएर समुदायलाई पार्टी प्रति भरोसा दिलाउन महामन्त्री थापाले विश्वास व्यक्त गरे । समुदायका मानिसहरु आत्तिएका छन् । हामीहरुले अन्य पार्टीतिर नहेरेर मेहनत गरेर जनताको काम गरौं बिस्तारै पार्टी बलियो हुने भनाई महामन्त्री थापाको छ ।