बर्दिया,बैशाख ५ (फरकसमाचार)/ लागु औषध चरेशसहित प्रहरीले एकैदिन दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा र बढैयाताल गाउँपालिका–६ स्थित फरक फरक ठाउँबाट मंगलबार प्रहरीले दुई जनालाई लागु औषध चरेशसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुकुम पश्चिम सानोभेरी गाउँपालिका–५ का ३४ वर्षिय बम बहादुर पुन र रुकुम पश्चिम सानोभेरी गाउँपालिका–६ कोत गाउँका ३० वर्षिय तिलक पुन रहेका छन् ।
मंगलबार बिहान पौने ४ बजे भारत तर्फ शंकास्पद रुपमा गईरहेका बम बहादुरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक सुर्य बहादु ओलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बम बहादुरलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा दुई वटा झोलामा रहेको ३९ प्याकेट २३ किलोग्राम लागु औषध चरेश बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ३१ नंम्बर गणका गणपति चित्राङगत दाहालले जानकारी दिए । गणपति दाहालका अनुसार बरामद लागु औषध चरेशसहित पुनलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढेको छ ।
त्यसैगरि मंगलबार बिहान ८ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले तिलक पुनलाई लागु औषधसहित पक्राउ गरेको हो । बढैयाताल गाउँपालिका–६ झुप बहादुर विकको घरमा भाडामा बस्दै आएका पुनको कोठामा खानतलासी लिदाँ लुकाई छिपाई राखेको अवस्थामा ४ किलो १ सय ग्राम लागु औषध चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
गत चैत १९ गते बढैयाताल गाउँपालिका फुटाह स्थितबाटै दाङ लमही नगरपालिका–११ की ५२ वर्षिय आशा राईलाई प्रहरीले ५ किलो ९ सय २९ ग्राम लागु औषध चरेशसहित पक्राउ गरेको थियो । यसरी खुल्ला सिमानाको फाइदा उठाउँदै लागु औषधको ओसार पसार बढेको छ ।
बाहिरी जिल्लाका व्यक्तिहरु सिमावर्ती क्षेत्रमा ठुलो परिमाणको लागु औषधसहित पक्राउ परिरहँदा लागु औषधको व्यापक कारोबार भईरहेको सर्वसाधारणले टिप्पणी गर्छन् । त्यसैगरि लागु औषध दुव्र्यसनीमा फसेका युवाहरु लागु औषध सेवनको लागि दिनहुँ सिमावर्ती बलैगाउँ, लौकाही र बठानिया बजार पुग्ने गरेको व्यापक गुनासो छ ।