ज्ञानेन्द्र पोखरेल
बर्दिया,बैशाख ६/ जनजागरण महिला संघको भवन निर्माणको लागि संघकी अध्यक्ष गोमा पौडेलले जग्गा दान गरेकी छन् । बढैयाताल गाउँपालिका–३ सिमरामा स्थित मंगलबार आयोजित एक कार्यक्रममा जनजागरण महिला संघकी अध्यक्ष पौडेलले आफ्नो निजी जग्गा संस्थालाई दान गरेकी हुन् ।
अध्यक्ष पौडेलले संघको संचालक समितिलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेकी छन् । बढैयाताल गाउँपालिका–३ नेपालगंज गुलरिया हुलाकी सडकखण्ड सिमरा स्थित रहेको –जग्गाको कित्ता नंम्बर ३३००, क्षेत्रफल १६५ दशमलव ५० बर्ग मिटर) दश धुर जग्गा दान गरेकी छन् ।
विस २०६३ सालमा निरक्षर महिलाहरुको लागि साक्षर गराउने उदेश्यले जनजागरण महिला संघ स्थापना भएको थियो । अहिले संस्थाले जिल्लाभर कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाको अहिलेसम्म आफ्नै जग्गा र भवन थिएन । अध्यक्षले जग्गा दिएपछि संस्थाको भवन निर्माण हुने भएको छ । संस्थाको स्थापना कालदेखि अहिलेसम्म गोमा पौडेल निर्बिरोध अध्यक्ष रहेकी छन् ।
महिलाको नेतृत्व रहेको यस संघले निरन्तर रूपमा आर्थिक, समाजिक रूपमा पछाडि पारिएका एकल महिलाहरू, विपन्न समुदायका महिलाहरू, मुस्लिम जनजाति महिलाहरूको जिबन स्तर माथि उकास्नको लागि समुदाय स्तरमा आय आर्जन, तरकारी खेति, बाख्रा पैचो कार्यक्रम र लघु उद्यम लगायतका कार्यक्रम संचालन गर्दै आएको छ ।
जग्गा दान कार्यक्रममा बढैयाताल गाउँपालिका–३ का वडा अध्यक्ष लल्लन अहिर, वडा सदस्य कृष्णलाल उपाध्याय, संघका सल्लाहकार ढाकाराम लामिछाने, संचालक समितिका उपाध्यक्ष सोनु बराईलि, टिम लिडर सिर्जना रेश्मी, साधारण सदस्यलगायतको उपस्थिती रहेको थियो ।