हावाहुरीले प्रहरीको नयाँ भवनको पर्खाल क्षतिग्रस्त
सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ३१/ ईलाका प्रहरी कार्यालय, जयनगरमा नव निर्मित भवनको बाहिरी पर्खाल उद्घाटन भएको दशौं दिनमा क्षतिग्रस्त भएको छ । बारबर्दिया नगरपालिका स्थित जयनगरमा भर्खरै निर्माण सम्पन्न भएको ईलाका प्रहरी कार्यालयको गत २० गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजि कुबेर कडायतले उद्घाटन गरेको नवनिर्मित पर्खाल क्षति ग्रस्त भएको हो । हावाहुरीको कारण बाहिरी भागमा लगाईएको पर्खाल क्षतिग्रस्त भएकोे खुलेको छ ।

दुई दिन अघि देखि चलेको समान्य प्रकृतिको हावाहुरीको बहाब थेग्न नसक्दा पर्खाल भत्किएर अनुमान गरिएको छ । नव निर्मित पर्खालका टुक्रा टुक्रि समेत यत्रतत्र छरिएको देखिन्छ । तीन करोड लगानीमा निर्माण भएको भवन बाहिरको पर्खाल भत्किदा गुणस्तर माथी प्रश्न चिन्ह खडा भएको छ । हावाहुरीले भत्काउँने गरी निर्माण गरिएको पर्खाल लापरबाहीको पराकाष्ठा भएको स्थानीयको प्रतिक्रिया छ ।

‘राज्य लगानी बालुवामा पानी हाले सरह भएको छ,’ एक स्थानीय भन्छन्,‘पक्की पर्खाल कसरी हावाहुरीले भत्किन्छ त ?’ प्रहरीका प्राबिधिक एसटिएसले गुणस्तर मापन गर्ने भनिएपनि प्रहरीको नवनिर्मित पर्खाल भत्किनु दुखद भएको एक प्रहरी अधिकृत बताए । प्रहरी संंगठनका लागि निर्माण हुने भवनमा खुला प्रतिस्पर्धामा भवन निर्माणको जिम्मा निर्माण कम्पनीले पाएपनि प्रहरीको प्राबिधिक एसटिएस टोलीले गुणस्तरको प्राबिधिक जाँच पश्यात उद्घाटन गरिन्छ ।

‘हावाहुरीले कसरी पक्की पर्खाल भत्कायो, हामी पनि अचम्भित भएका छौ,’उनले भने । जयनगर स्थित नव निर्मित भवनको बाहिरी पट्टिको पर्खाल भत्किएको प्रहरी निरिक्षक कुशल सिंह ठकुुरीले बताए । ‘पर्खाल भत्किएको छ, सबैले थाहा पाएका कुरा हो,’उनले भने,‘ के कस्तो प्राबिधिक त्रुटिले भत्किएको खुल्न बाँकी छ ।’ हावाहुरीले गर्दा पर्खाल भत्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर