बर्दिया,जेठ २(फरकसमाचार)/गुलरियामा भएको चोरीको घटनाले सबैलाई अचंमित पारेको छ । घरमा लगाएको ताला जस्ताको त्यस्तै छ तर, घरभित्र रहेको गरगहनासहित अन्य सामान चोरी भएको छ । कसरी चोरी भयो सोचनिय विषय बनेको छ । घरमा लगाईएको ताला लागेकै छ कसरी सामान गायब भयो भन्ने विषयमा सर्वसाधारणमा कौतुहलता छ । चोरीमा संलग्न व्यक्तिले मास्टर चाँबी प्रयोग गरे कि कसरी घर भित्र पसेर सामान चोरे खुलेको छैन । यद्यपि यस घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्न बाँकी नै छ ।
गुलरिया नगरपालिका–६ गौरीशंकर टोलका कमलेश कुमार मिश्राको घरमा चोरी भएको हो । घरमा कोही नभएको बेला चोरी भएको हो । मिश्रा सपरिवारसहित भाईबहिनीको विवाहमा गत बैशाख ४ गते जनकपुर गएका थिए । मिश्रा मंगलबार जनकपुरबाट गुलरिया घर फर्किदा घटना सार्वजनिक भएको छ ।
घरको ढोकामा लगाएर गएको ताला जस्ताको त्यस्तै लागेको मिश्राले बताए । ‘तालाको चाँबी मसंगै थियो,’मिश्राले भने, ‘चोरी भएको कुनै शंका भएन ।’ ‘आफैले लगाएर गएको ताला खोलेर घरमा प्रवेश गर्दा घरभित्रको कपडा छितारेको देखे,’मिश्राले भने,‘घरमा रहेको चामलको बोरासमेत गायब छ ।’ विवाहमा गएको अवधिमा चोरी भएको हुँदा कुन दिन चोरी भयो एकिन छैन ।
ग्याँस सिलिन्डर, चामलको बोरी, साडी, चाँदीको पायल, नाँकको फुली,कानको बाला र हनुमान जीको प्रतिमा भएको सुनको लकेट चोरी भएको मिश्राले जानकारी दिए ।
चोरी भएको खबर पाएपछि असई सापको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए ।