बर्दिया,जेठ ७(फरकसमाचार)/ यौनिकता शिक्षा सम्बन्धि किशोर किशोरी मात्र नभई सबैको चासो विषय हुन्छ । चासो हुँदा हुँदै पनि खुल्न सक्ने अवस्था छैन । यौनिकता बारे खुलेर कुरा नगर्ने सामाजमा पुरानै धारणा छ । यौनिकता शिक्षाको बारेमा किशोर किशोरीहरुले अझैपनि आफ्नो अभिभावक, शिक्षक र साथीभाईसंग खुलेर कुरा गर्न सकेका छैनन् ।
यौनिकता शिक्षा बारेमा खुलेर बहस नहुँदा बालबालिकाहरु प्रत्यक्ष मारमा परेका छन् । यौनिकता शिक्षाको बारेमा ज्ञान नहुँदा किशोर किशोरीले गलत निर्णय गरेर बाल विवाह गर्न पुग्छन् । यौनिकता शिक्षाको बारेमा बालबालिकालाई व्यापक जानकारी गराई यस्ता गलत निर्णय रोक्न प्रयास गरिएको छ ।
यौनिकता शिक्षा बारे किशोरावस्थाका बालबालिकालाई ज्ञान नहुँदा बाल विवाह, यौन हिंसा, र लैङ्गिक हिंसालगायतका घटना घट्ने जोखिम बढेको बालिका सशक्त परियोजनाका कार्यक्रम अधिकृत ईश्वर विकले बताए । सामाजमा घट्ने यस्ता घटनालाई न्युनिकरण गर्न यौनिकता शिक्षाको बारेमा खुल्न जरुरी रहेको उनले सुनाए ।
किशोरावस्थामा किशोर किशोरीलाई राम्रोसंग हेरचाह गरे घटना घट्ने जोखिम कम हुने बालिका सशक्त परियोजनाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताए । ‘यस अवस्थामा शारीरिक, भावनात्मक र मानसिक परिर्वतनको बेला हो,’उनले भने,‘यस अवस्थामा किशोर किशोरीलाई यौनिकता बारेमा ज्ञान नभए दुर्घटना हुन सक्छ ।’ यस अवस्थामा हुने शरीरिक परिर्वतन सामान्य प्रक्रिया हो कुनै अनौठो होइन ।
यस प्रक्रियाको बारेमा ज्ञान नहुँदा किशोर किशोरीले गलत निर्णय लिन पुग्छन् । यस्ता गलत निर्णय गरेर बालबालिकाले बाल विवाह, यौन हिंसा र लैङ्गिक हिंसामा पर्छन् । जसकारण यौनिकता शिक्षाको बारेमा किशोर किशोरीलाई जानकारी गराउन जरुरी रहेको उनले जनाए ।
बाँके युनेस्को क्लवको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा शनिबार बृहत यौनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । अभिमुखिकरणमा किशोरी क्लव, बाल क्लव,सिएसओका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।