आन्दोलित पक्ष र बढैयाताल गाउँपालिका बिच सहमति जुट्यो
मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ८(फरकसमाचार)/ बढैयाताल गाउँपालिका र आन्दोलित पक्षबिच सहमति जुटेको छ । विगत केही दिन देखि आन्दोलित रहेको पक्ष र गाउँपालिका बिच सोमबार सहमति जुटेको हो । गाउँपालिकाका पदाधिकारी, राजनीतिक दल, भुमिअधिकार मञ्च र समाजसेवीहरुको उपस्थितीमा विभिन्न निर्णयमा सहमति जुटेको जनाईएको छ ।

गत बैशाख २२ गते बढैयाताल गाउँपालिका–६ पुरानो हुलाकी सडक छेउ स्थित सकिना खानको घर बढैयाताल गाउँपालिकाले भत्काउँदा जनताहरु आन्दोलित भई सडकमा उत्रिएको बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीले बताए । ‘उहाँहरुको मागलाई सम्बोधन गर्न पालिका लागिपरेको छ,’ अध्यक्ष त्रिपाठीले भने,‘आन्दोलित पक्ष र पालिका बिच ठोस निर्णय भई सहमति जुटेको छ ।’

घरमा क्षति पुगेकोले सकिना खानलाई पालिकाले आवश्यक सहयोग गर्ने सहमति जुटेको अध्यक्ष त्रिपाठीले जनाए । बढैयातालको निर्माणधिन प्रशासनिक भवनको अदालतमा परेको मुद्दामा पालिकाद्वारा सम्पत्ति संरक्षणको लागि सर्वदलिय निर्णय गरिएको अध्यक्ष त्रिपाठीले सुनाए ।

त्यसैगरि पालिकामा शिक्षाका विभिन्न व्यतिथीलाई अन्त्य गर्दै आगामी बैठकमा सार्वजनिक गर्ने, बढैयाताल गाउँपालिकाका १ देखि ९ वडाभित्र सार्वजनिक बाटोको उचित मापदण्ड तयार गर्ने, सडक छेउमा रहेको सार्वजनिक जग्गाको सम्बन्धमा सर्वपक्षिय सहमति अनुसार गर्ने, सार्वजनिक सम्पत्तिको अभिलेख तयार गरि सर्वदलिय सहमति अनुसार संरक्षणको नीति निर्माण गर्ने, सार्वजनिक स्थानमा बसोबास गरेका भुमिहीन, दलित भुमिहीन तथा सुकुम्बासीहरुको उचित बैकैल्पिक व्यवस्था नभएसम्म यथा अवस्थामा रहन दिने, सार्वजनिक ठाउँमा नयाँ संरचना निर्माणमा रोक लगाउने, अतिक्रमित जग्गाको यर्थाथ विवरण तयार गरि संरक्षण र प्राप्तीको लागि पालिकाले तत्काल प्रक्रिया अघि बढाउने तथा फोहोर व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

आन्दोलित पक्ष, बढैयाताल गाउँपालिका र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा सहमति भएको नेपाली काँग्रेसका नेता शम्भु प्रसाद रिजालले बताए । बैठकमा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, भुमिअधिकार मञ्चका प्रतिनिधि केश बहादुर विक, नेपाली काँग्रेसका नेता खडानन्द तिवारी, नेकपा एमालेका लालबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लल्लुराम थारु (शिशिर) राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक खनाल, नागरिक उन्मुक्ति पार्टीबाट जोखन थारु बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर