बारबर्दिया नगरपालिकाले नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्यो
आइतबार, जेठ २७, २०८१ मा प्रकाशित

बर्दिया,जेठ २७(फरकसमाचार)/ बारबर्दिया नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम एवम् बजेट सम्बन्धमा सुझाव संकलन गरेको छ । बारबर्दिया नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट सम्बन्धमा शनिबार सुझाव संकलन गरेको हो । नगरपालिकाले राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, बडघर तथा नगर स्थित रहेका सम्पुर्ण संजालका अगुवाहरुसंग आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउन सुझाव संकलन गरेको छ । कार्यक्रममा सहभागीहरुले लिखित तथा मौखिक रुपमा सुझाव दिएका छन् ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बस्ती स्तरबाट सुझाव संकलन गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘यस कार्यक्रममा नगर स्थित सम्पुर्ण क्षेत्रका अगुवाहरुको सहभागीता गराईएको छ,’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने,‘तपाईहरुले दिएको सुझावको आधारमा आगामी नीति तथा कार्यक्रम आउनेछ ।’

विभिन्न क्षेत्रका २७ जना अगुवाहरुले लिखित तथा मौखिक रुपमा सुझाव दिएको बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले बताईन् । ‘नगरको चौतर्फी विकासको लागि तपाईहरुले दिएको सुझाव महत्वपुर्ण छ,’उप–प्रमुख पाण्डेले भनिन्,‘तपाईहरुले दिएको सुझाव हामीले टिपोर्ट गरेका छौं ।’ यी सुझावहरुको अध्ययन गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने उप–प्रमुख पाण्डेले प्रतिबद्धता व्यक्त गरिन् ।

नगरको विकासको लागि सबैसंग समन्वय र सहकार्य गरि अघि बढिरहेको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले बताए । ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुन कुन क्षेत्रलाई समेट्न सक्र्यो, असार मसान्तमा सार्वजनिक गर्नेछौं,’नगर प्रमुख थारुले भने,‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्न फेरि पनि तपाईहरुसंग सुझाव संकलन गरेका छौं ।’

‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हामीले छुटाएको कुरा आज तपाईहरुले उठान गर्नु भयो,’नगर प्रमुख थारुले भने,‘यी कुरालाई सुझावको रुपमा ग्राहण गरेको छु ।’ संकलन गरेको सुझावको मुताबिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने नगर प्रमुख थारुले विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय