बिहान कक्षा संचालन भएपछि गर्मीबाट विद्यार्थीलाई राहत
मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित

बर्दिया, जेठ २९ (फरकसमाचार)/ पछिल्लो समय तापक्रममा सुधार आएको छैन । तापक्रम झन् बढ्दो क्रममा छ । तापक्रम उकालो लाग्दा दिनप्रति दिन अत्याधिक गर्मी महसुस भईरहेको छ । अत्याधिक गर्मीको बेला दिउँसो विद्यालय संचालन हुँदा विद्यार्थीलाई स्वास्थ्य समस्या हुन सक्ने जोखिम बढेको थियो । बिहान १० बजे टटालपुर घाममा विद्यालय जाने र आउने बाध्यता थियो ।

अब गुलरिया नगरपालिकालगायत चार पालिकाले त्यो बाध्यतालाई हटाएको छ । गुलरिया नगरपालिका भित्रका सम्पुर्ण विद्यालयलाई शिक्षा शाखाले बिहान ६ बजेदेखि संचालनको लागि व्यवस्था मिलाएको छ । जसमा सोमबार देखि गुलरियाका सामुदायिक विद्यालयले बिहानको समयमा कक्षा संचालन गरेका छन् भने दिउँसो कक्षा संचालन गर्ने संस्थागत विद्यालयहरुलाई वातावरण अनुसार छात्रा/छात्रलाई उपलब्ध गराउनुपर्ने सुविधाको सुनिश्चितता हुने गरि पठन पाठनको व्यवस्थापन गर्न शिक्षा शाखाले अनुरोध गरेको छ । बिहान कक्षा संचालन भएपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु खुसी देखिएका छन् ।

अत्याधिक गर्मीले पठनपाठन गर्न कठिनाई भएपछि गुलरिया नगरपालिकाले वर्षे बिदाबाट मिलान हुने गरि दुई पटक विद्यालय बिदा लम्बाएको थियो । गुलरिया नगरपालिकाले पहिलो पटक जेठ १६ गते देखि जेठ १८ गतेसम्म सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयसम्म बन्द गरेको थियो । त्यसैगरि दोस्रो पटकट जेठ २० गते २५ गतेसम्म विद्यालय बन्द गरेको थियो । तर, तापक्रममा कुनै सुधार नभएपछि दिउँसो संचालन हुने कक्षा बिहान संचालन गराईएको छ । गुलरिया नगरपालिका नगर प्रमुख स्तरीय निर्णयानुसार सोमबार देखि वर्षे बिदा शुरु हुनु भन्दा अगाडिसम्म बिहान कक्षा संचालनको लागि व्यवस्था मिलाउन गुलरिया शिक्षा शाखाले अनुरोध गरेको छ ।

अत्याधिक गर्मीका कारण वर्षे बिदाबाट मिलान हुनेगरि जेठ २९ गते देखि जेठ ३२ गतेसम्म ४ दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय बिदा गरेको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

बढेको गर्मीलाई मध्यनजर गरि चार पालिकाले बिहानमा कक्षा संचालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुर्य बहादुर खत्रीले बताए । ‘गुलरिया, ठाकुरबाबा नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकाले बिहान कक्षा संचालन गरेका छन्,’इकाइ प्रमुख खत्रीले भने,‘बारबर्दियाले चार दिन विद्यालय बिदा गरेको छ ।’ बाँसगढी र राजापुर नगरपालिकाले दिउँसमा कक्षा संचालन गरिरहेका छन् । त्यसैगरि मधुवन नगरपालिकामा ५० प्रतिशत बिहान र ५० प्रतिशत विद्यालयले दिउँसमा कक्षा संचालन गरिरहेको इकाइ प्रमुख खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय