अखाद्य आइसक्रिम बेच्ने दुई उद्योगलाई बर्दिया प्रशासनको कारवाही
बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ३१(फरकसमाचार)/ यति बेला अत्याधिक गर्मी छ । गर्मीको सिजनमा बजारमा अखाद्य आइसक्रिमको बिगबिगी बढेको थियो । यस्तो अखाद्य चिज खाएर सर्वसाधारणहरुको स्वास्थ्यमा असर पर्ने जोखिम बढेको थियो ।

सोही क्रममा प्रशासनले उक्त आइसक्रिम उत्पादन गर्ने उद्योगको अनुगमन गरि कारवाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको नेतृत्वमा निस्केको अनुगमन टोलीले अखाद्य आइसक्रिम बेच्ने दुई उद्योगलाई मंगलबार कारवाही गरेको हो ।

गुलरिया नगरपालिका स्थित संचालित नुर आइसक्रिम उद्योग र बर्दिया दुध डेरी उद्योगलाई प्रशासनले जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाईन् । प्रजिअ शर्माका अनुसार संयुक्त अनुगमन टोलीले दुवै उद्योगबाट अखाद्य आइसक्रिम नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

नुर आइसक्रिम उद्योगबाट मुल्य रु ५४ हजार ५ सय र बर्दिया दुध डेरी उद्योगबाट मुल्य रु २६ हजार बराबरको अखाद्य आइसक्रिम नष्ट गरिएको छ । त्यसैगरि दुवै उद्योगलाई १५/१५ हजार जरिवाना गरि आवश्यक निर्देशन दिईएको जनाईएको छ । सहायक प्रजिअ कठायतको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चलगायतको प्रतिनिधिहरुको अनुगमनमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय