‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरोकारवालाको चासो’
बुधबार, असार ०६, २०८१ मा प्रकाशित

बर्दिया,असार ५ (फरकसमाचार)/ सुर्तीजन्य पदार्थको पकेट माथि नै डर लाग्दो चेतावनीमुलक चित्र छापिएको हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गरे क्यान्सरलगायतका जटिल रोग लाग्न सक्ने र जिवन बर्बाद हुन सक्ने चेतावनीमुलक चित्र देखेर पनि मानिसहरु अबुझ भई सेवन गरिरहेको अवस्था छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण दिनहुँ मानिसहरुको मृत्यु भईरहेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि सरकारले कानुन बनाएको छ । तर कानुन कार्यान्वयन नहुँदा खुल्लम खुल्ला सेवन तथा बिक्री वितरण गरेको पाईन्छ ।

शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत सरकारले सुचना प्रकाशित गरि तोकेको सार्वजनिक स्थलबाट करिब एक सय मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने ऐनमा व्यवस्था छ । तर सम्बन्धित निकायको फितालो अनुगमनका कारण यस्ता प्रतिबन्धित क्षेत्रमासमेत सुर्तीजन्य पदार्थको खुल्लम खुल्ला बिक्री वितरण भईरहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको सहयोग तथा आउटरिच मिडिया प्रालिको आयोजनामा मंगलबार गुलरियामा आयोजित धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा सहभागीले चासो देखाका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि सबै सरोकारवाला एक जुट भएर अघि बढ्न सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

नेपालमा प्रत्येक वर्ष करिब २७ हजार १ सय ३७ जना मानिसहरुको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु भईरहेको आउटरिच मिडियाकी निर्देशक कल्पना आचार्यले प्रस्तुतीकरणको क्रममा तथ्यांक सार्वजनिक गरिन् । सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्यलाई मात्र नभई वातावरणलाई असर गर्ने बताईन् । ‘सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनको लागि व्यापक सचेतनामुलक अभियान चलाउनुपर्छ,’निर्देशक आचार्यले भनिन्,‘सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले सुर्तीजन्य पदार्थको प्रचार प्रसारको कुनै कार्य गरे कानुन विपरीत मानिन्छ ।’

सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि कडा रुपमा प्रस्तुत भएको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । ‘सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि नगरपालिकाको कार्यालयबाट सुरु गरेको छु,’उप–प्रमुख गौतमले भनिन्,‘पहिला कार्यालय भित्र कुना कुनामा पुरिया पान खाएर थुकेर रातै हुन्थ्यो ।’ आज भोलि थुक्ने कुनामा भगवान्को फोटो टाँसेको छु । पहिला भन्दा अलि कम भएको छ । त्यसैगरि पान पुरिया खाने व्यक्तिहरुको सिसि क्यामराबाट निगरानी बढाईएको उप–प्रमुख गौतमले भनाई राखिन् ।

पान खाएर रातै मुख बनाएर आउनेलाई जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा प्रवेश निषेध गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । कुल्ला गरेर आए मात्र प्रवेश गराईएको अवस्था छ । स्थानीय सरकार र प्रशासनले नेतृत्व गरे मापदण्ड विपरीत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई ऐनमा तोकिए बमोजिमको कारवाही गर्ने डिएसपी अर्यालले विश्वास दिलाए ।

बजार अनुगमनका क्रममा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्दा मापदण्डलाई टेक्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए । आगामी दिनमा पालिका, उद्योग वाणिज्य संघ र सरोकारवालाहरुसंग समन्वय गरि अनुगमन तिव्र पार्ने प्रशासकीय अधिकृत यादवले धारणा व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अफिसर पद्मा कुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय