गुलरियाको प्राथमिकतामा गरिबी न्युनिकरण
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असार ११ (फरकसमाचार)/ गरिबी न्युनिकरण गर्ने गुलरिया नगरपालिकाको प्रमुख नीति ल्याएको छ । गुलरिया नगरपालिकाले सोमबार बाह्रौं नगर सभामा आगामी वर्षको नीति तथा कार्यक्रममा गरिबी न्युनिकरण गर्ने प्रमुख नीति तथा उदेश्य रहेको जनाएको हो ।
रोजगारी सिर्जना गर्ने, गाउँ तथा सहर बिच अन्तरसम्बन्ध कायम गर्ने खालका आयोजनाहरुलाई प्राथमिकता दिदै गरिबी न्युनिकरण गर्ने आगामी वर्षको प्रमुख नीति तथा उदेश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक निति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गरेका थिए । गुलरिया नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा नगरका सम्पुर्ण क्षेत्रका योजनालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

बालविकास सहित माध्यमिक तहसम्मको शिक्षालाई बालमैत्री, सिकाईमैत्री, प्रविधिमैत्री र गुणस्तरीय बनाउन विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, खानेपानी, शौचालय जस्ता पूर्वाधार विकासमा लागानी गरिने आगामी नीति तथा कार्यक्रममा समावेश रहेको नगर प्रमुख यादवले प्रस्तुत गरे ।

भौतिक प्रर्वाधार, शिक्षा, युवा तथा खेलकुद, कृषि तथा पशुपंक्षी पालन सम्बन्धि, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन संस्कृति तथा बातावरण, फोहर मैला व्यवस्थापन, सामाजिक विकास, भुमि व्यवस्थापन, महिला बालबालिका तथा जेष्ठ नागरिक, राजस्व तथा कर प्रणाली, संगठन तथा जनशक्ति विकास, सुचना तथा पारदर्शिता, विपद् व्यवस्थापन र सरहकारीलाई प्राथमिकतामा राखी गुलरिया नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले प्रस्तुत गरेकी थिईन् । चालु आर्थिक वर्ष ०८०/०८१ को बजेट तथा कार्यक्रमको अवस्था बारे उप–प्रमुख गौतमले जनाईन् । चालु आर्थिक वर्ष ०८०/०८१ मा चालु तथा पुँजीगत खर्च गरि कुल रु १ अरब ६ करोड बजेट बिनियोजन भएको थियो । त्यसैगरी आन्तरिक राजश्वतर्फ रु ३ करोड ६२ लाख प्रपेक्षण गरिएको थियो ।

जसमा जेठ मसान्तसम्म रु ३ करोड २३ लाख अर्थात लक्ष्यको ९० प्रतिशत संकलन भएको जनाईन । यद्यपी संघ, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाडफाडको रकम करिब ५५ प्रतिशत समानिकरण रकम ७४ प्रतिशत मात्र प्राप्त भएको छ । चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको भुक्तानी दिन नसकिने आगामी आवको लागि कम्तिमा ५ करोड रकम दायित्व थपिने सम्भावना रहेको सुनाईन् । चालु आर्थिक वर्षमा विनियोजित बजेटको ७५ प्रतिशत खर्च भएको उप–प्रमुख गौतमले प्रस्तुत गरिन् ।

त्यसैगरी आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको उदेश्य प्राथमिकताको बारेमा समेत उप–प्रमुख गौतमले प्रस्तुत गरेकी थिईन् । आगामी आर्थिक वर्ष ०८१/०८२ मा सशर्त अनुदानतर्फ संघिय सरकारबाट करिब रु ३५ करोड र प्रदेश सरकारबाट रु १ करोड १० लाख रकम बराबरको योजना तथा कार्यक्रम प्राप्त भएको उप–प्रमुख गौतमले प्रस्तुत गरेकी छन् ।

गुलरिया नगरपालिकाको बाह्रौं नगर सभा कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, निर्वाचित जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय