बर्दिया,असार २६(फरकसमाचार) /पछिल्लो समय बर्दियामा मानव वन्यजन्तु बिचको द्वन्द्व बढ्दो छ । दश वर्षको अवधिमा वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७०/०७१ देखि आर्थिक वर्ष ०८०/८१ असार २० गतेसम्म वन्यजन्तुको आक्रमणबाट २१ जनाको ज्यान गएको डिभिजन वन कार्यालयको तथ्यांकले पुष्टि गर्छ । त्यसैगरि ४३ जना घाईत भएका छन् । २ सय ८१ पशुधनको क्षति भएको छ । ४२ जनाको घरगोठ क्षति भएको छ भने ३ सय ५९ जना किसानको अन्नबाली क्षति भएको देखिन्छ ।
मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न डिभिजन वन कार्यालयले स्थानीयहरुको चाहना अनुसार मचान निर्माण, ईलेक्ट्रिक फेन्स, साइरन जडान र सडक बत्ति जडानको काम गरेको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष ०८०/०८१ मा सम्पन्न गरेको वार्षिक कार्यको मंगलबार अनुगमन गराएको छ । अनुगमनमा जिल्ला स्थित संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
चालु आर्थिक वर्ष ०८०/०८१ मा डिभिजन वन कार्यालयले रु १७ लाख बराबरको लागतमा सोमलपुर सामुदायिक वन, मधुवन नगरपालिका–१ को ३ सय ५० मिटर क्षेत्रमा मेस वायर ईलेक्ट्रिक फेन्स र सम्झना सामुदायिक वन, मधुवन नपा–३ भगरैयाको ७ सय ५० मिटर क्षेत्रमा ईलेक्ट्रिक फेन्सिङ्गको कार्य सम्पन्न भएको छ ।
जडान गरिएको ईलेक्ट्रिक फेन्समा हात्तीले छोएपछि अटोमेटिक साइरन बज्ने सम्झना सामुदायिक वनका अध्यक्ष प्रेम चन्द ठकुरीले बताए । ‘साइरन बजेपछि स्थानीयहरु हात्ती आएको जानकारी पाउँछन्,’अध्यक्ष ठकुरीले भने,‘जस कारण मानविय क्षति हुदैन ।’
त्यसैगरि चिरौटे सामुदायिक वन मधुवन नपा–५ को २ सय ५० मिटर क्षेत्रमा रु ४ लाख लागतमा मेस वायर ईलेक्ट्रिक फेन्सिङ्गको काम गरेको छ । चिरौटे सामुदायिक वन मधुवन नपा–५ र जनजागृति सामुदायिक वन, मधुवन नपा–२ मा मचान निर्माण गरेको छ । मधुवन नगरपालिका–१ देखि ५ सम्म प्रभावित क्षेत्रमा ३३ वटा सडक बत्ति जडान गरेको छ ।
लुम्बिनी प्रदेशले पिडितसंग प्रदेश सरकार वन्यजन्तुलाई फोकस गरेर कार्यक्रम गरेको छ । त्यो कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्युवरण व्यहोरेका ४ जनाका परिवारलाई जनही एक/एक लाख तत्काल उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।
‘चितुवाको आक्रमणबाट घाईते बारबर्दियाका नपा–३ का खुरखुरे फाँटका साहिल सुनारलाई उपचारको लागि २५ हजार उपलब्ध गराएका छौं,’प्रमुख बिडारीले भने, ‘मृत्युवरण व्यहोरेका पाँच जनालाई अझैसम्म दश लाख क्षतिपुर्ति उपलब्ध गराउन सकेका छैनौं ।’ वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भए पश्चात राहत वितरणका लागि संघिय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्ने रकम हस्तान्तरण नभएका कारण पिडित घर परिवारलाई राहत वितरण गर्न नसकिएको हो । जसबाट थप द्वन्द्व बढ्ने जोखिम रहेको छ ।
१ लाख ९० हजार विभिन्न जातका विरुवाका बेर्ना निःशुल्क वितरण गर्न डिभिजन वन कार्यालय स्थित नर्सरीमा उत्पादन गरिएको सहायक वन अधिकृत टंक बहादुर गुरुङ्गले बताए । ‘सिसौ, खयर, मसला, कोइरालो, मोरिङ्गालगायतका ८० हजार एक वर्षिय विरुवाका बेर्ना तयार भएको छ,’अधिकृत गुरुङ्गले भने,‘बहुवर्षिय गत वर्षको विरुवाहरुमा फलफूल, वन र फूल प्रजातिका ७० हजार विरुवा बृक्षारोपण गर्ने तयारी अवस्थामा रहेको छ ।’ त्यसैगरि बहुवर्षिय ४० हजार विरुवाका बेर्ना उत्पादन गरेका छौं जुन अर्को वर्ष बृक्षारोपण गर्न तयार हुने जनाए ।
गुलरिया नगरपालिका–५ वालापुर स्थित तराईको रैथाने लोपोन्मुख मौवा जातीको विरुवा रोपेर डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । ‘लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा परेको मौवा सम्वद्र्धन गर्ने नीति कार्यक्रम बन्यो,’सुचना अधिकारी शर्माले भने,‘अतिक्रमण भएको जग्गालाई तारबार सोही कार्यक्रम अन्र्तगत १ दशमलव ३ हेक्टरमा २ हजार ७४ वटा मौवा जातीको विरुवा रोपण गरेका छौं ।’
थारु जातिको संस्कृतिसंग जोडिएको मौवा प्रजातिको विरुवा उत्साहका साथ रोपण गरेको गुलरिया थारु सामुदायिक वनका अध्यक्ष तिहार बहादुर चौधरीले बताए । ‘रोपण गरेको मौवाको विरुवाको रेखदेख चौकीदारले गरेको छ,’अध्यक्ष चौधरीले भने,‘मौवा उत्पादन गरेर रक्सी बनाउने व्यवसायसंग जोड्ने योजना छ ।’
त्यसैगरि ९ वटा सामुदायिक वनमा सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम सुरुवात गरेको डिभिजन वन कार्यालयका प्रमुख बिडारीले बताए । ‘यो पुरै सामुदायिक वनको कार्यक्रम हो,’ प्रमुख बिडारीले भने,‘गाह्रो परेको ठाउँमा वनले प्राविधिक सहयोग गर्छ ।’ यो विशुद्ध वनको विज्ञानमा आधारित कार्यक्रम हो । दिगो रुपमा वनबाट प्राप्त हुने वस्तु र सेवा कसरी बढाउन सक्छौं । वनलाई कसरी हेल्दी गर्न सक्छौं यो प्रणालीले सत प्रतिशत रिजल्ट दिने प्रमुख बिडारीले धारणा व्यक्त गरे ।